हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडीमा आगामी असार १३ गते शनिबार निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। टोल विकास संस्था स्थापना भएको २६ औँ वर्ष पूरा भएको अवसरमा स्थानीय नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो।
टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ को सह–आयोजनामा तथा मकवानपुर सहकारी अस्पताल हेटौंडा–१ को समन्वयमा शिविर सञ्चालन हुन लागेको हो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–१८ को व्यवस्थापन रहनेछ।
शिविरको तयारीका लागि आयोजित बैठकमा वडा नं. १८ का अध्यक्ष अनिलकुमार बानियाँ, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, उपमहासचिव देवकुमार श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका सचिव अर्जुनप्रसाद बिडारी, जनसम्पर्क अधिकृत रोयल बानियाँ, टोल विकास संस्था वडा समन्वय समिति–१८ की अध्यक्ष विमला बिसुङ्खे लगायत विभिन्न टोल विकास संस्थाका पदाधिकारी, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति थियो।
बैठकमा बोल्दै समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले समुदायको स्वास्थ्य अवस्था सुधार गर्न तथा विशेषज्ञ स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए । उनले टोल विकास संस्थाहरूलाई घरघरमा सूचना पुर्याई अधिकतम नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।
त्यसैगरी वडा अध्यक्ष अनिलकुमार बानियाँले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै वडा कार्यालयले सामाजिक तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तर प्राथमिकता दिँदै आएको बताए। उनले शिविरबाट विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा आर्थिक रूपमा विपन्न नागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्दै सबै वडावासीलाई सहभागी हुन अनुरोध गरे ।
आगामी असार १३ गते शनिबार बिहान ८ बजेदेखि हेटौंडा–१८ स्थित ज्योति उच्च माध्यमिक विद्यालय, हर्नामाडीमा सञ्चालन हुने शिविरमा मुटुरोग, हाडजोर्नी तथा नसा रोग, बालरोग, युरोलोजी, स्त्री तथा प्रसूति रोग लगायतका विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ।
शिविरमा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिनुका साथै रक्तचाप, मधुमेह लगायतका आधारभूत स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।

