हेटौँडा । नेपालमै पहिलो पटक ड्रागन फ्रुट महोत्सव हेटौँडामा आयोजना हुने भएको छ। प्रादेशिक कृषि थोक बजार सञ्चालन समिति तथा ड्रागन फ्रुट महोत्सव उपसमितिको आयोजनामा असार ११, १२ र १३ गते हेटौँडास्थित प्रादेशिक कृषि थोक बजार परिसरमा तीनदिने महोत्सव सञ्चालन गरिने भएको हो।
“उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय उत्पादन” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवलाई बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन्। महोत्सवसँगै प्रादेशिक कृषि थोक बजारलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइने आयोजकले जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको मुख्य उद्देश्य ड्रागन फल उत्पादक किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै उत्पादनको बजारीकरणमा सहयोग पुर्याउनु रहेको जानकारी दिएको छ। पछिल्ला वर्षहरूमा मकवानपुरमा ड्रागन फल उत्पादन उल्लेखनीय रूपमा बढे पनि बजार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले महोत्सवमार्फत त्यसको समाधान खोज्ने प्रयास गरिएको महोत्सव आयोजक समितिका संयोजक सूरज थिङले बताए।
हाल मकवानपुरको मनहरी, बकैया र बागमती गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा ड्रागन खेती विस्तार हुँदै गएको छ। जिल्लामा करिब ४० देखि ५० जना किसानले व्यावसायिक रूपमा ड्रागन फल उत्पादन गरिरहेका छन्।
महोत्सवमा रातो, सेतो र पहेँलो प्रजातिका ड्रागन फलको प्रदर्शनी तथा सहुलियत मूल्यमा बिक्री गरिनेछ। करिब ३० वटा स्टल रहने महोत्सवमा ताजा फलसँगै ड्रागनबाट तयार गरिएका जुस, जाम, सलाद, आइसक्रिम, चिया तथा फूलबाट बनाइने ग्रीन टीलगायतका परिकार पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्।
सहभागी किसानलाई निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ। महोत्सव सञ्चालनका लागि करिब दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जसअन्तर्गत बागमती प्रदेश सरकारबाट ७० हजार रुपैयाँ र हेटौँडा उपमहानगरपालिकाबाट एक लाख रुपैयाँ सहयोग प्राप्त हुने बताइएको छ।
यस वर्ष उत्पादन अपेक्षाभन्दा बढी भएकाले बजार व्यवस्थापनमा चुनौती देखिएको किसानहरूको भनाइ छ। हेटौँडामा दैनिक करिब ५०० किलोग्राम ड्रागन फल खपत हुने गरेको छ भने अन्य जिल्लाबाट समेत बिक्रीका लागि ड्रागन आउने गरेको छ। महोत्सव अवधिमा करिब २ हजार ५ सयदेखि ३ हजार किलोग्रामसम्म ड्रागन फल बिक्री हुने अनुमान गरिएको छ।
महोत्सवको समापन समारोहमा सबैभन्दा बढी उत्पादन गर्ने, सबैभन्दा बढी बिक्री गर्ने तथा उत्कृष्ट बाइ–प्रोडक्ट उत्पादन गर्ने किसानलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। महोत्सव प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म तथा बेलुका ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


