Search
Close this search box.

हेटौँडामा तेस्रोलिङ्गीको भेषमा रकम असुली, समुदायको ध्यानाकर्षण


मकवानपुर । हेटौँडामा तेस्रोलिङ्गीको भेष धारण गरी सर्वसाधारणसँग जबरजस्ती रकम असुल्ने तथा अभद्र व्यवहार गर्ने गतिविधि बढ्दै गएको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्। समुदायले यस्ता गतिविधिले वास्तविक तेस्रोलिङ्गी समुदायको पहिचान र प्रतिष्ठामाथि नकारात्मक असर परेको भन्दै आवश्यक कारबाहीको माग गरेका हुन्।

फ्रेन्ड हेटौँडा तथा नीलहिरा समाज मकवानपुरका कार्यक्रम संयोजक किरण थापाका अनुसार बाहिरी जिल्लाबाट आएका केही व्यक्तिहरूले तेस्रोलिङ्गी समुदायको नाम प्रयोग गर्दै बसपार्क क्षेत्रलगायत मकवानपुरका विभिन्न स्थानमा अवाञ्छित गतिविधि गरिरहेका छन्। उनले यस्ता गतिविधिले समुदायको पहिचान धमिलिने खतरा बढेको र ठूलो सामाजिक समस्या उत्पन्न हुन सक्ने भन्दै समयमै नियन्त्रण आवश्यक रहेको बताइन्।

यस विषयमा जेठ २६ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, उपमहानगरका १९ वटै वडा कार्यालय, नारायणी यातायात व्यवसायी संघ, गैरसरकारी संस्था तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखालगायत निकायमा ध्यानाकर्षण पत्र बुझाइएको थियो।

ध्यानाकर्षण पत्रमा हेटौँडाका बजार क्षेत्र, पसल तथा सार्वजनिक यातायातका साधनहरूमा केही समययता तेस्रोलिङ्गी तथा तेस्रोलिङ्गीको भेष धारण गरेका व्यक्तिहरूको समूहले जबरजस्ती पैसा माग्ने, रकम नदिए गालीगलौज तथा अभद्र व्यवहार गर्ने, यात्रु र सर्वसाधारणलाई दुःख दिने गतिविधि बढेको उल्लेख गरिएको छ।
पत्रमा यस्ता गतिविधिले बजारको शान्ति सुरक्षा, सामाजिक मर्यादा तथा सार्वजनिक आवागमनमा प्रत्यक्ष असर पारेको जनाइएको छ। साथै केही व्यक्तिको गलत व्यवहारका कारण वर्षौंदेखि आफ्नो पहिचान र अधिकारका लागि संघर्षरत वास्तविक तेस्रोलिङ्गी समुदायप्रति नागरिकमा नकारात्मक धारणा विकास भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

समुदायले बजार तथा यातायात क्षेत्रमा सर्वसाधारणलाई दुःख दिने र जबरजस्ती रकम असुल्ने कार्य तत्काल रोक्न, संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा वास्तविक स्थानीय तेस्रोलिङ्गी समुदायको पहिचान र व्यवस्थापनका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले ध्यानाकर्षण पत्र प्राप्त भएपछि प्रहरी टोलीलाई निगरानीका लागि परिचालन गरिएको बताए।

उनले भने, “हामीले प्रहरी टोलीलाई जानकारी गराएर परिचालन गरेका छौँ। हालसम्म त्यस्तो गतिविधिमा संलग्न व्यक्तिहरू फेला परेका छैनन्। सूचना प्राप्त भए वा भेटिए कानुनअनुसार आवश्यक कारबाही गर्छौँ। यस्ता व्यक्तिलाई राख्ने छुट्टै व्यवस्थापनको विषय पनि चुनौतीका रूपमा रहेको छ।”
हेटौँडा उपमहानगरपालिका–१० का वडा अध्यक्ष फुर्वा दोर्जी लामाले यस विषयमा प्रहरीसँग समन्वय भइरहेको जानकारी दिए। “सुरक्षाको विषयलाई ध्यानमा राख्दै प्रहरीलाई पत्राचार गरेका छौँ। सम्बन्धित सबै पक्षसँग समन्वय गरेर समस्या समाधानतर्फ अघि बढ्नेछौँ,” उनले भने।
यस्तै, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले प्रशासनले विषयलाई गम्भीरतापूर्वक लिएको बताए। “प्रहरी परिचालन गरिएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति भेटिए तत्काल कानुनी कारबाही हुन्छ,” उनले भने, “यस्ता समुदायका व्यक्तिहरूको व्यवस्थापनका लागि राज्यले पनि आवश्यक संरचना र व्यवस्था गर्नुपर्ने देखिन्छ।”

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan