Search
Close this search box.

विपद् पूर्वतयारी सुदृढ बनाउन बागमती प्रदेशमा संयुक्त कृत्रिम अभ्यास


हेटौंडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् व्यवस्थापन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले हेटौंडामा संयुक्त कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ।
हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रको हेटेक्स चौरमा आयोजित कार्यक्रममा भूकम्प र आगलागीबाट उत्पन्न हुन सक्ने विपद्का सम्भावित अवस्थालाई आधार बनाएर खोज, उद्धार, राहत तथा व्यवस्थापनसम्बन्धी अभ्यास गरिएको हो।
अभ्यासका क्रममा भूकम्पका कारण भवन भत्किएको, मानिसहरू पुरिएको, घाइते भएको तथा घर र उद्योगमा आगलागी भएको काल्पनिक अवस्था सिर्जना गरिएको थियो। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, हेटौंडा उपमहानगरपालिका तथा हेटौंडा अस्पतालसहित विभिन्न निकायका टोलीहरूले खोज तथा उद्धार, प्राथमिक उपचार, घाइतेको सुरक्षित स्थानान्तरण र आगलागी नियन्त्रणका अभ्यासात्मक प्रदर्शन गरेका थिए।
मन्त्रालयका अनुसार विपद्को समयमा सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा स्वयंसेवी सङ्गठनबीच प्रभावकारी समन्वय कायम गर्दै उद्धार तथा राहत कार्यलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन सक्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारी ले विपद् व्यवस्थापन सबै सरोकारवाला निकायको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी, स्रोत–साधनको व्यवस्थापन र संस्थागत समन्वयलाई प्रभावकारी बनाउन यस्ता अभ्यास आवश्यक रहेको धारणा राख्नुभयो।
सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादेले संकटका बेला छिटो र प्रभावकारी रूपमा उद्धार, राहत तथा पुनःस्थापना गर्न सक्नु नै सरकारको सफलता हुने बताउनुभयो। यस्ता अभ्यासले सरकारी संयन्त्रको तयारी र कार्यक्षमता थप सुदृढ बनाउने उहाँको भनाइ थियो।

कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी लगायतको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan