मकवानपुर । मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती विस्तारसँगै उत्पादन बढ्न थालेपछि किसानलाई बजारसँग जोड्ने उद्देश्यले हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव सुरु गरिएको छ। नेपालमै पहिलो पटक आयोजना गरिएको महोत्सवमा किसानहरूले आफ्नै उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याइरहेका छन्।
‘उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रुट’ भन्ने नारासहित सञ्चालन भइरहेको महोत्सवमा जिल्लाका विभिन्न स्थानका किसान सहभागी छन्। बजारमा प्रतिकिलो ५०० रुपैयाँसम्म बिक्री हुने ड्रागन फ्रुट महोत्सवमा २०० देखि २६० रुपैयाँ प्रतिकिलोसम्म उपलब्ध गराइएकाले उपभोक्ताको समेत आकर्षण बढेको छ।
पछिल्लो समय मकवानपुरमा ५० भन्दा बढी किसानले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गरिरहेका छन्। उत्पादन बढ्दै गए पनि उचित बजारको अभाव महसुस भइरहेका बेला महोत्सवले किसानलाई प्रत्यक्ष बिक्रीको अवसर प्रदान गरेको छ।
प्रदेश कृषि थोक बजार सञ्चालक समितिको आयोजनामा सुरु भएको महोत्सवमा हेटौँडा उपमहानगरपालिका तथा बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्य रहेको छ। आयोजकका अनुसार ड्रागन फ्रुटको बजारीकरणमा टेवा पुर्याउनुका साथै हालै सञ्चालनमा आएको प्रदेश कृषि थोक बजारको प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य हो।
बागमती प्रदेश सरकारको ७० प्रतिशत र हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको प्रदेश कृषि थोक बजारले कृषकका उत्पादनको संकलन, भण्डारण तथा बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
महोत्सवले किसान र उपभोक्ताबीचको दूरी घटाउनुका साथै बिचौलियामुक्त कृषि व्यापारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। यसबाट स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि व्यवसायप्रति आकर्षण वृद्धि तथा कृषकको आय आर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

