Search
Close this search box.

टोल विकास संस्थाको स्थापना दिवसमा निःशुल्क स्वास्थ्य शिविर, ४३८ जनाले लिए सेवा


हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको २६औँ स्थापना दिवसको अवसरमा हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालय, हर्नामाडीमा आयोजित निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट ४३८ जना नागरिक लाभान्वित भएका छन्।

टोल विकास संस्था नगर समन्वय समितिको आयोजना, वडा नं. १८ को सहयोग, सामुदायिक प्रहरी सेवा केन्द्रको सहआयोजना, मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति–१८ को व्यवस्थापनमा सम्पन्न शिविरमा मुटु, नसा, युरोलोजी, नाक–कान–घाँटी, स्त्री तथा प्रसूति, शल्यचिकित्सा लगायतका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श, ईसीजी, प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरण सेवा प्रदान गरेका थिए।

कार्यक्रममा वडा नं. १८ का अध्यक्ष अनिल बानियाँले यस्ता स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै नागरिकलाई घरदैलोमै गुणस्तरीय सेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले स्वास्थ्यलाई सबैभन्दा ठूलो सम्पत्ति भन्दै समुदायको आवश्यकताअनुसार यस्ता जनहितकारी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan