हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घाराखोल्सास्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आइतबार बिहान पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहान करिब ६ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको खाली योद्धा पिकअप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक थाहा नगरपालिका–९ चित्लाङ घर भइहाल हेटौंडा -१ चौकिटोल बस्ने ४५ वर्षीय मुकुन्द झ्यारी मगरलाई उद्धार गरी पाटन अस्पताल, ललितपुर पठाइएको थियो। उपचारका क्रममा बिहान ८ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

