हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ मा बालमैत्री वडा घोषणाको दोस्रो वार्षिकोत्सव तथा एसईई सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालय र बाल समूह सञ्जाल हेटौंडा–८ को समन्वयमा शुक्रबार आयोजित कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने २० जना विद्यार्थीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
हेटौंडा–८ कमाने वडा स्तरीय बाल समूह सञ्जालकी अध्यक्ष सुप्रिया मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता थियो।
कार्यक्रममा बोल्दै उपमेयर बानियाँले विद्यार्थीमा अध्ययनप्रति थप लगाव र हौसला बढाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए। उनले बालबालिकाको समग्र विकासका लागि उपमहानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरे।
८ नम्बर वडाका अध्यक्ष रामकृष्ण थापाले बालमैत्री वडा घोषणालाई दिगो बनाउने अभियानमा वडा निरन्तर सक्रिय रहेको बताउँदै बालबालिकाको हित र विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। उनले विद्यार्थीलाई अझ राम्रो नतिजा हासिल गर्न प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा बालबालिकाको अधिकार संरक्षण तथा बालमैत्री स्थानीय शासनको दिगोपनामा योगदान पुर्याएको भन्दै मामाघर नेपालका अर्पण पराजुली, निवर्तमान वडा समन्वय अध्यक्ष विष्णु अर्याल, माइती नेपालकी संयोजक माया लामा तथा सिविन बाल हेल्पलाइनका प्रबन्धक झविन्द्र ज्ञवालीलाई सम्मान गरिएको थियो।
यसैगरी प्रतिभा प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने सहभागीलाई नगदसहित पुरस्कृत गरिएको थियो भने अन्य सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा हेटौंडा – १ का वडा अध्यक्ष सविन न्यौपाने, मामाघर नेपालका संयोजक अर्पण पराजुली, बाल अधिकार समिति सदस्य सरस्वतीकुमारी थिङ, नगर बाल समूह सञ्जालका अध्यक्ष सुदान्सु थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

