हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक महेन्द्र राजमार्गमा आइतबार दिउँसो ईभी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब १२:५० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०४६९ नम्बरको ईभी गाडी एक्कासी जंगली जनावरले सडक काटेपछि चालकले बचाउने प्रयास गर्दा गाडी चिप्लिएर सडकको बायाँतर्फ पल्टिएको हो।गाडीमा चालकसहित ८ जना सवार रहेकामा ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा नुवाकोट तादी गाउँपालिका–३ की ४२ वर्षीया सीता सुनार (दुवै खुट्टामा चोट), सोही स्थानकी ५५ वर्षीया राधा सुनार (दाहिने हातमा चोट), भारतको बिहार राज्य दरभंगा जिल्लाका २४ वर्षीय क्यामुल हक (बायाँ खुट्टामा चोट), पर्साको वीरगञ्ज महानगरपालिका–१५ का २३ वर्षीय रवि कुमार गुप्ता (बायाँ हातमा चोट), सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४८ वर्षीय पासाङ लामा (शरीरका विभिन्न भागमा चोट) तथा काठमाडौं दक्षिणकाली नगरपालिका–५ का २७ वर्षीय कृष्ण तामाङ (बायाँ खुट्टा र दाहिने हातमा चोट) रहेका छन्। प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको छ।
गाडीका चालक काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१० निवासी ५६ वर्षीय दिलिप सिलिवाल प्रहरी नियन्त्रणमा रहेको र बाटो अवरुद्ध नभएको जानकारी दिइएको छ।

