Search
Close this search box.

समस्याग्रस्त ५ सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने


हेटौँडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बुधबार हेटौँडामा बसेको बैठकले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकममार्फत साना बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामबाबु पुरीका अनुसार हाल व्यवस्थापनको कारबाहीमा रहेका पाँच सहकारी सिभिल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड, लालीगुराँस बचत तथा ऋण सहकारी लिमिटेड र सुमेरु बचत तथा सहकारी संस्था लिमिटेड का बचतकर्तालाई रकम फिर्ता गर्न सार्वजनिक सूचना जारी गरी प्रक्रिया अघि बढाइनेछ।
बैठकमा मुख्यमन्त्री बानियाँले बचतकर्ताले छिटो राहत पाउने गरी आवश्यक प्रक्रिया तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको सचिव पुरीले जानकारी दिनुभयो।
यसैगरी सहकारी क्षेत्रको सुधारका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामलाई थप प्रभावकारी बनाउने, समितिले नियमित रूपमा मन्त्रालयमा त्रैमासिक प्रतिवेदन बुझाउने, प्रदेशभरका सहकारीहरूको अनुगमन तथा नियमनलाई थप सुदृढ गर्ने तथा कुनै पनि सहकारीलाई समस्याग्रस्त घोषणा गर्नुअघि पर्याप्त आधार र प्रमाणका आधारमा मात्र सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan