हेटौंडा । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई धारिलो हतियारसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार राति ११ः५५ बजे हेटौंडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि हेटौंडा–५ निवासी ३३ वर्षीय सबिन नेपालीले कुटपिट गर्नुका साथै धारिलो हतियार (टाप) प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटनापछि नेपाली फरार भएका थिए।
घटनापछि प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार बिहान करिब २ बजे प्रतिवादी सबिन नेपालीलाई उनकै घरमा लुकिछिपी बसेको अवस्थामा घटनामा प्रयोग गरिएको धारिलो हतियार (टाप) सहित पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका नेपालीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


