हेटौँडा। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरबाट चालु आर्थिक वर्ष २०८२/८३ मा १७ हजार ८ सय ४५ जनाले बहिरंग (ओपिडी) सेवा लिएका छन्। चिकित्सालयका कार्यालय प्रमुख डा. सृष्टि श्रेष्ठका अनुसार सेवा लिनेमध्ये ९ हजार ५ सय ६२ महिला र ८ हजार २ सय ८३ पुरुष रहेका छन्।
शुक्रबार आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा चिकित्सालयले अकुपञ्चर, पञ्चकर्म, फिजियोथेरापी, प्रयोगशाला, योग, मानसिक स्वास्थ्य तथा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धनलगायतका सेवा नियमित सञ्चालन भइरहेको जानकारी दिएको छ। चालु वर्षमा ९ हजार ३ सय २० जनाले पूर्वकर्म, ७ हजार ८ सय ५६ जनाले प्रयोगशाला, ५ हजार १ सय २१ जनाले फिजियोथेरापी तथा ४ हजार ५ सय ४ जनाले अकुपञ्चर सेवा लिएका छन्।
चिकित्सालयले ३५ प्रकारका निःशुल्क र ६० भन्दा बढी प्रकारका सशुल्क औषधि उपलब्ध गराउँदै आएको जनाएको छ। व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ढकालले यसै वर्षदेखि अन्तरंग (आईपिडी) सेवा सुरु गर्ने तयारी भइरहेको बताउँदै स्रोत र जनशक्तिको अभाव मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो।

