Search
Close this search box.

मानसिक स्वास्थ्य समस्या गहिरिँदै, हेटौंडा अस्पतालमा तीन वर्षमै बिरामी ३२ गुणाले बढे


हेटौंडा । मकवानपुरमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको देखिएको छ। एकातर्फ आत्महत्याका घटना उच्च रहिरहेका छन् भने अर्कोतर्फ मानसिक स्वास्थ्यसम्बन्धी उपचार सेवा लिन हेटौंडा अस्पताल पुग्ने बिरामीको संख्या पनि हरेक वर्ष उल्लेख्य रूपमा बढ्दै गएको छ।

हेटौंडा अस्पतालले आर्थिक वर्ष २०७९/८० देखि मानसिक स्वास्थ्य तथा मनोचिकित्सा सेवा सुरु गरेको थियो। अस्पतालका अनुसार पहिलो वर्ष ओपिडी सेवामा ३ सय ८९ जना बिरामी आएका थिए। यो संख्या २०८०/८१ मा ५ हजार २ सय ४, २०८१/८२ मा ७ हजार ७ सय ८१ पुगेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म मात्रै १२ हजार ३ सय ५३ जनाले सेवा लिइसकेका छन्। तीन वर्षमै ओपिडी सेवा लिने बिरामीको संख्या करिब ३२ गुणाले बढेको अस्पतालको तथ्यांकले देखाउँछ।
अस्पतालले २०८०/८१ देखि मानसिक स्वास्थ्यका बिरामीलाई भर्ना गरेर उपचार गर्न थालेको हो। पहिलो वर्ष ४९ जना भर्ना भएका थिए भने २०८१/८२ मा यो संख्या ४ सय ३१ पुगेको थियो। चालु आर्थिक वर्षको जेठसम्म ३ सय ४७ जना भर्ना भएर उपचार गरिसकेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार आत्महत्याका घटना अझै उच्च छन्। आर्थिक वर्ष २०७९/८० मा झुन्डिएर १ सय ६ जना र विष सेवनबाट ४६ जनाले ज्यान गुमाएका थिए। २०८०/८१ मा झुन्डिएर १ सय र विष सेवनबाट ४४ जनाको मृत्यु भयो। २०८१/८२ मा झुन्डिएर ८६ जना तथा विष सेवनबाट ४४ जनाले आत्महत्या गरेका थिए। चालु आर्थिक वर्षको जेठसम्म झुन्डिएर ६९ जना, विष सेवनबाट ३१ जनाको मृत्यु भएको छ भने आत्महत्या दुरुत्साहनसम्बन्धी दुई घटना दर्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवप्रसाद काफ्लेकाअनुसार महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेका छन्। अनुसन्धानका क्रममा पारिवारिक तथा आपसी विवाद, मानसिक यातना, आर्थिक लेनदेनको तनाव, मानसिक रोग, प्रेम तथा विवाहसम्बन्धी समस्या, आवेगमा गरिने निर्णयलगायत कारण प्रमुख रूपमा देखिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आत्महत्या रोकथामका लागि समुदायस्तरमै जनचेतना फैलाउन, आत्महत्या गर्न उक्साउने व्यक्तिलाई कानुनी कारबाही गर्न र मानसिक स्वास्थ्यबारे निरन्तर सचेतना अभियान सञ्चालन गर्न आवश्यक छ।
मनोपरामर्श प्रतिष्ठानका संस्थापक डा. नरेन्द्रसिंह ठगुन्नाकाअनुसार भविष्यप्रतिको अत्यधिक चिन्ता एन्जाइटी र विगतका घटनाप्रति निरन्तर चिन्तित रहनु डिप्रेसनको संकेत हो। उहाँले मानसिक स्वास्थ्यमा सामाजिक सम्बन्ध, पारिवारिक वातावरण र आत्महेरचाहको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । “परिवारको साथ र सहयोग नपाउँदा, आफूलाई एक्लो महसुस गर्दा तथा समाजबाट अलग हुने प्रवृत्तिले मानसिक समस्या बढाउँछ,” उहाँले भन्नुभयो ।अध्ययनले आत्महत्या गर्ने अधिकांश व्यक्तिमा एन्जाइटी र डिप्रेसन देखाएको उहाँले बताउनुभयो। उहाँका अनुसार अधिकांश मानसिक समस्या प्रभावकारी मनोपरामर्शबाट नियन्त्रण गर्न सकिन्छ। समयमै उचित काउन्सिलिङ भए धेरै बिरामीलाई औषधिको आवश्यकता पनि नपर्न सक्छ।

बजेट न्यून, काउन्सिलरको अभाव
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौलागाईंकाअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारबाट मानसिक स्वास्थ्य कार्यक्रमका लागि ३ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले थप १ लाख रुपैयाँ छुट्याएको छ भने स्वास्थ्य क्षेत्रका लागि कुल २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। गत आर्थिक वर्षमा मानसिक स्वास्थ्यका लागि छुट्याइएको १ लाख ५० हजार रुपैयाँबाट स्वास्थ्यकर्मीलाई विशेषज्ञ चिकित्सक र मनोपरामर्शकर्तामार्फत तालिम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । तर समस्या र बिरामीको चापका आधारमा यो बजेट अत्यन्तै न्यून रहेको उहाँको भनाइ छ। नगरको जनसंख्या र आवश्यकतालाई हेर्दा कम्तीमा १० लाख रुपैयाँ छुट्याउनुपर्ने उहाँको सुझाव छ।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाकाअनुसार उपचार सेवा सुरु भएपछि र जनचेतना बढ्दै जाँदा बिरामीको संख्या पनि बढेको हो।
उहाँले मानसिक रोगका लागि निःशुल्क औषधि उपलब्ध गराइए पनि छुट्टै बजेट र पर्याप्त जनशक्ति अभावका कारण अपेक्षित सेवा दिन कठिन भइरहेको बताउनुभयो । उहाँकाअनुसार मनोचिकित्सक र मनोपरामर्शकर्ताको दरबन्दी विस्तार, निःशुल्क औषधिको दायरा वृद्धि र जनचेतना अभियानलाई प्राथमिकतामा राख्न आवश्यक छ।
लागुऔषध र मानसिक रोगबीचको सम्बन्ध
सिआन पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसीका अनुसार केन्द्रमा विगत ११ वर्षमा आएका सेवाग्राहीमध्ये करिब ४५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। कतिपयलाई औषधि उपचार आवश्यक पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार गाँजा र विभिन्न प्रकारका ट्याब्लेटजन्य लागुऔषध प्रयोगकर्तामध्ये करिब ७० प्रतिशतमा मानसिक समस्या देखिने गरेको अनुभव छ। सरकारले मानसिक स्वास्थ्यलाई अझै प्राथमिकतामा राख्न नसकेको उहाँले बताउनुभयो ।
हेटौंडा अस्पतालका मनोचिकित्सक डा. उद्भव लामाका अनुसार उपचारका लागि आउने अधिकांश बिरामी २० देखि ४० वर्ष उमेर समूहका छन्। उहाँले बढ्दो तनाव, लागुऔषध दुव्र्यसन, सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अस्वस्थ जीवनशैली र सामाजिक दबाब मानसिक समस्याका प्रमुख कारण बनिरहेको बताउनुभयो । पछिल्ला वर्षहरूमा लागुऔषध प्रयोगका कारण महिलामा पनि मानसिक स्वास्थ्य समस्या उल्लेख्य रूपमा बढ्दै गएको उहाँको भनाइ छ। उहाँका अनुसार अस्पतालमा पर्याप्त काउन्सिलर नहुँदा उपचार प्रभावकारी बनाउन कठिनाइ भइरहेको छ। “मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्यसरह महत्व दिनुपर्छ। समुदायस्तरमा जनचेतना अभियान सञ्चालन नगरे समस्या अझै जटिल बन्दै जाने जोखिम छ,” उहाँले भन्नुभयो ।

हिमालय टाइम्सबाट

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan