Search
Close this search box.

कर्रा खोलामा आएको बाढीले ट्रक बगायो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित शिवम सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले सोमबार बिहान एउटा खाली ट्रक बगाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्का) माथिबाट पानीको बहाव एक्कासि बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरेर फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगाएको हो।

ट्रकका चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङ भने पौडिएर आफैं सकुशल बाहिर निस्किएका छन्। उनको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते थिङलाई उपचारका लागि चौघडास्थित राजु मेडिकल पठाइएको छ।

अन्य कुनै मानवीय क्षति नभएको र बाढीले बगाएको ट्रक निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan