Search
Close this search box.

सिमखोलामा बाढीले बगाएको स्कुटर र हेल्मेट फेला, चालकको खोजी जारी


मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटर र हेल्मेट फेला परेको छभने चालकको खोजी कार्य जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार बा. प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटरका धनी सर्लाहीका महेश कुमार कार्की रहेको ब्लुबुक तथा प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त स्कुटरमा बग्ने क्रममा कति जना सवार थिए र चालक महेश कार्की नै थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले घटनास्थल तथा आसपासका क्षेत्रमा चालकको खोजी कार्य निरन्तर गरिरहेको छ।
घटनापछि मंगलबार बिहानदेखि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी अभियानलाई थप तीव्र बनाएको छ।
प्रहरीका अनुसार सोमबार अपराह्न करिब ३ बजे कुलेखानी ड्यामनजिक रहेको सिमखोला तर्ने क्रममा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो।
यसैबीच प्रमुख जिल्ला अधिकारी अधिकारी स्वयं घटनास्थलमा पुगेर जोखिमयुक्त क्षेत्रको अनुगमन गरेका छन् । उनले झरना, खोला तथा अन्य जोखिमपूर्ण स्थानमा अनावश्यक आवतजावत नगर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हाल पहिरो हटाइएपछि जिल्लाका मुख्य सडक सञ्चालनमा आएका छन्। तर मौसम तथा जोखिमको अवस्थाको निरन्तर मूल्याङ्कन गर्दै आवश्यक परे साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सडक आवागमनमा अस्थायी रोक लगाउन सकिने प्रशासनले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan