मकवानपुर । अविरल वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीको वैकल्पिक मार्ग तथा त्रिभुवन राजमार्ग भएर सञ्चालन हुने सवारी साधनलाई मंगलबार बेलुकादेखि बुधबार बिहानसम्म हेटौंडामै होल्ड गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै मंगलबार बेलुका ६ः३० बजेदेखि बुधबार बिहान ५ बजेसम्म काठमाडौंतर्फ जाने सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जनाएको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बागझोरा क्षेत्रमा वर्षाका समयमा आकस्मिक भेल आउने जोखिम, भीमफेदीस्थित बेलिब्रिज मर्मतका कारण वैकल्पिक डाइभर्सन प्रयोग भइरहेको अवस्था तथा सिमखोला क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम कायम रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै रातिको सवारी आवागमन रोकिएको हो।
प्रशासनले अत्यावश्यक अवस्था बाहेक रातिको समयमा यात्रा नगर्न सबै सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ। साथै, कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC), सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय वा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ।
यसअघि पनि बाढीपहिरोको उच्च जोखिमका कारण सोमबार अपराह्न ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म यही मार्गमा सवारी सञ्चालन रोकिएको थियो। लगातार वर्षा र मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेकाले प्रशासनले पुनः रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ।

