Search
Close this search box.

मकवानपुर क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न


हेटौँडा । मकवानपुर क्रिकेट संघको वार्षिक साधारण सभा आइतबार हेटौँडामा सम्पन्न भएको छ। संघका अध्यक्ष करण महत्रा क्षेत्रीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले खेलकुदले शारीरिक तथा मानसिक विकाससँगै आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। आफू पनि किशोरावस्थादेखि नै खेलकुदसँग जोडिएको स्मरण गर्दै उनले खेलकुदबाट ऊर्जा, उत्साह र अघि बढ्ने आत्मविश्वास विकास भएको अनुभव सुनाइन्।
नगर प्रमुख भएपछि खेलकुदलाई सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाउने अभियानमा आफू रहेको बताउँदै लामाले हेटौँडाका विभिन्न वडामा खेलमैदान, खुला व्यायामशाला तथा स्वास्थ्य केन्द्र निर्माणलगायतका आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताइन्।
उनले ठूला संरचना र ठूलो बजेटमा मात्र केन्द्रित नभई नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले स्थानीय सरकारले काम गरिरहेको उल्लेख गरिन्। क्रिकेटलगायत खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने उनले बताइन्।
साधारण सभाका अवसरमा क्रिकेट संघका निवर्तमान अध्यक्ष बाशुलाल श्रेष्ठ र खेलाडी रिजन ढकाललाई सम्मान गरिएको थियो।
कार्यक्रममा क्रिकेट संघका पूर्व अध्यक्ष तथा समाजसेवी अरुणराज सुमार्गीसहित संघका पदाधिकारी, प्रतिनिधि तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan