मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
लामाले जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनी हाल नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापति छन्।
लामालाई कांग्रेस महामन्त्री गगन थापानिकट नेताका रूपमा चिनिन्छ। त्यस्तै, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र महामन्त्री पदका उम्मेदवार डिना उपाध्यायको समेत उनलाई समर्थन रहेको बताइएको छ।
गत स्थानीय तहको निर्वाचनमा मकवानपुरमा कांग्रेसलाई पहिलो दल बनाउन लामाको भूमिका रहेको कांग्रेस नेताहरू बताउँछन्। त्यसबेला पार्टीको जिल्ला नेतृत्वमा रहेका लामाको भूमिकालाई लिएर पार्टीभित्र प्रशंसा भएको थियो।
केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेसँगै लामा जनजाति क्लस्टरतर्फको प्रतिस्पर्धामा उत्रिएका छन्।


