हेटौँडा । मकवानपुरगढी गाउँपालिकामा पछिल्ला चार आर्थिक वर्षमा बालबालिकासँग सम्बन्धित ४५ वटा घटना तथा समस्या अभिलेख भएको पाइएको छ । बालविवाह, बालश्रम, बालबालिका हराउने तथा फेला पर्ने, शैक्षिक सहयोग, पारिवारिक समस्या र अनलाइन दुर्व्यवहारलगायतका घटना अभिलेख भएका हुन् ।
सिविन नेपालको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको समन्वयमा स्थानीय बालअधिकार समिति तथा सरोकारवालासँग बालसंरक्षणका विषयमा गरिएको छलफलमा सिविन बाल हेल्पलाइन हेटौँडाले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
सिविन बाल हेल्पलाइन हेटौँडामा आर्थिक वर्ष २०८०/०८१ देखि २०८३/०८४ सम्म दर्ता भएका घटनामध्ये आर्थिक वर्ष २०८०/०८१ मा १४, २०८१/०८२ मा १२, २०८२/०८३ मा १३ र चालु आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म ५ वटा घटना अभिलेख भएका छन् ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी पारिवारिक तथा शैक्षिक सहयोगसँग सम्बन्धित १२ वटा र बालबालिका हराउने तथा फेला पर्ने ११ वटा घटना छन् । त्यस्तै, बालविवाहका ८ वटा घटना अभिलेख भएका छन् ।
आर्थिक वर्ष २०८०/०८१ मा शैक्षिक सहयोग तथा पारिवारिक समस्याका ६, बालबालिका हराउने तथा फेला पर्ने ३ र बालविवाहका २ घटना अभिलेख भएका थिए । सोही वर्ष बालबिज्याइँसम्बन्धी एक तथा जबरजस्ती करणीसम्बन्धी दुई घटना पनि दर्ता भएका थिए ।
आर्थिक वर्ष २०८१/०८२ मा बालविवाहका घटना बढेर ४ पुगेका थिए । सो वर्ष बालश्रमका ३, शैक्षिक सहयोग तथा पारिवारिक समस्याका २ तथा बालबालिका हराउने तथा फेला पर्ने, अनलाइन दुर्व्यवहार र लागूऔषध दुर्व्यसनसम्बन्धी एक–एक घटना अभिलेख भएका थिए ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा बालबालिका हराउने तथा फेला पर्ने घटना सबैभन्दा बढी ७ वटा अभिलेख भएका थिए । सो वर्ष बालविवाहका २ तथा अनलाइन दुर्व्यवहार, मनोविमर्श तथा परामर्श र खानपान सहयोगसम्बन्धी एक–एक घटना दर्ता भएका थिए ।
चालु आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म शैक्षिक सहयोग तथा पारिवारिक समस्याका ४ र मनोविमर्श तथा परामर्शसम्बन्धी एक गरी ५ वटा घटना अभिलेख भएका छन् ।
छलफल कार्यक्रममा सिविन बाल हेल्पलाइन हेटौँडाका प्रबन्धक झविन्द्र ज्ञवालीले स्थानीय बालअधिकार समितिको गठन प्रक्रिया, समितिको कार्यकाल, नियमित बैठक तथा काम, कर्तव्य र अधिकारका विषयमा प्रस्तुति दिएका थिए । उनले वैकल्पिक स्याहारको व्यवस्था, कानुनतः विशेष संरक्षणको आवश्यकता भएका बालबालिका तथा मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षणको अवस्थाबारे जानकारी गराएका थिए ।
त्यस्तै, बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४८ मा उल्लेख गरिएका विशेष संरक्षणको आवश्यकता भएका बालबालिकासम्बन्धी व्यवस्थाबारे पनि छलफल गरिएको थियो । वडास्तरीय बालअधिकार समितिको गठन प्रक्रिया तथा बालकल्याण अधिकारीको काम र कर्तव्यका विषयमा समेत सहभागीलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख रुद्रनारायण शाहले बालश्रम न्यूनीकरणका लागि पालिका, प्रहरी र बाल हेल्पलाइनसहितको संयुक्त टोली परिचालन भएमा श्रम तथा रोजगार कार्यालयबाट आवश्यक सहयोग र समन्वय रहने बताए ।
सिविन बाल हेल्पलाइनका प्रबन्धक झविन्द्र ज्ञवालीको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका सामाजिक विकास समितिका प्रमुख एवं वडा नम्बर १ का अध्यक्ष आइतसिंह लोको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाह, महिला तथा बालबालिका शाखाकी सावित्री सापकोटालगायत २८ जनाको सहभागिता रहेको थियो ।


