Search
Close this search box.

हेटौंडा -१५ चिप्लेटीमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य सचेतना

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ स्थित चिप्लेटीमा नसर्ने रोगसम्बन्धी स्वास्थ्य सचेतना, अभिमुखीकरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

हेटौँडा उपमहानगरपालिकाको दुर्गम बस्तीका रूपमा रहेको चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयमा बिहीबार समुदायस्तरमा नसर्ने रोगसम्बन्धी अभिमुखीकरण, स्वास्थ्य स्क्रिनिङ तथा प्रतिबद्धता कार्यक्रम गरिएको हो।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयअन्तर्गत जनस्वास्थ्य कार्यालय मकवानपुर र लायन्स क्लब अफ हेटौँडाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले हेटौँडा उपमहानगरपालिकाभित्रै रहे पनि भौगोलिक रूपमा दुर्गम रहेको चिप्लेटीको विकासका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको बताउनुभयो । उहाँले बजार क्षेत्रमा मात्रै कार्यक्रम केन्द्रित नहोस् भन्ने उद्देश्यले दुर्गम बस्तीलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो।
घलानले नसर्ने रोगका विषयमा पर्याप्त जनचेतना नहुँदा समुदायका विभिन्न उमेर समूह स्वास्थ्य समस्याबाट प्रभावित हुने गरेको भन्दै रोगको जोखिम, रोकथाम र स्वस्थ जीवनशैलीबारे सचेतना आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा पनि चिप्लेटीलगायत दुर्गम क्षेत्रमा स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी विष्णु पौडेलले सन्तुलित आहार र स्वस्थ जीवनशैलीका विषयमा सहजीकरण गर्नुभएको थियो । जनस्वास्थ्य कार्यालय मकवानपुरकी धनलक्ष्मी श्रेष्ठले नसर्ने रोगका प्रकार, जोखिम तथा बच्ने उपायबारे जानकारी दिनुभएको थियो।
कार्यक्रमअन्तर्गत मेरो ९ प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता अभियानका रूपमा सहभागीलाई स्वस्थ जीवनशैलीसँग सम्बन्धित नौ बुँदामा प्रतिबद्धता जनाउँदै हस्ताक्षरसमेत गराइएको थियो।
त्यसैगरी सहभागीहरूको नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल, सदस्यहरू, कर्मचारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको सहभागिता थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan