Search
Close this search box.

लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक भीमफेदीबाट पक्राउ


हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी सवारी साधन चलाएको आरोपमा पाँच जना चालकलाई भीमफेदीबाट नियन्त्रणमा लिएको छ।
हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय भीमफेदीअगाडिको चेकपोष्टमा बिहीबार गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनीहरू लागूऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्।
बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ६४ वटा सवारी साधनका चालकको स्वास्थ्य परीक्षण गरिएकोमा पाँच जनामा लागूऔषध सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पछिल्लो समय जिल्लामा सवारी दुर्घटनाका घटना बढ्दै गएपछि प्रहरीले चालकको स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँचलाई तीव्रता दिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी र भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त टोलीले चालकहरूको स्वास्थ्य परीक्षण गरेको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय राजु चौधरी, बारा निजगढ नगरपालिका–३ का २३ वर्षीय विनोद राउत, बारा करैयामाई गाउँपालिका–८ का २४ वर्षीय सुनिल यादव, बारा सिम्रौनगढ नगरपालिका–६ का २७ वर्षीय विशाल साह र रौतहट गुजरा नगरपालिका–१ का २५ वर्षीय निरे चौधरी रहेका छन्।
उनीहरू क्रमशः विभिन्न नम्बरका योद्धा पिकअप तथा सुमोका चालक रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan