हेटौँडा । बागमती प्रदेश सरकारले बाढीका कारण क्षतिग्रस्त नुवाकोट र रसुवाका पाँच वटा झोलुङ्गे पुल पुनर्निर्माण गर्ने भएको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको लगानीमा ती पुल निर्माण गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार नुवाकोटमा विदुर नगरपालिका–४ मेरीस्टोप मार्गदेखि विदुर–१२ कफीबारी जोड्ने क्षेत्रमा, सिमचौर र तिर्तिरेभीरमा एक–एक वटा झोलुङ्गे पुल निर्माण गरिनेछ।
त्यस्तै, रसुवाको स्याप्रुबेँसीमा एउटा तथा थुमनबाट लिङलिङ जोड्ने क्षेत्रमा अर्को झोलुङ्गे पुल निर्माण गरिनेछ। पाँचमध्ये एउटा पुल निर्माण व्यवसायीसँगको सहकार्यमा बनाइनेछ भने त्यसका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक लट्ठासमेत पठाइसकिएको मन्त्री केसीले जानकारी दिनुभयो।
बाढी तथा विपद्का कारण अवरुद्ध आवतजावत सहज बनाउन थप दुई स्थानमा बेलीब्रिज निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
फलाकु खोलाको कुवापानीमा एउटा बेलीब्रिज निर्माण गरिनेछ भने नुवाकोटको विदुर क्षेत्रमा त्रिशूली नदी वारपार गर्न उपयुक्त स्थान पहिचान गरी अर्को बेलीब्रिज राखिने भएको छ।
बाढी तथा विपद्बाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने निर्णयसमेत बैठकले गरेको छ। विभिन्न मन्त्रालयका प्रस्तावित बजेटमा केही कटौती गरी विपद् व्यवस्थापन कोषमा रकम छुट्याउने र सञ्चित कोषमार्फत पुनर्निर्माण तथा पुनःस्थापनाका काममा स्रोत परिचालन गरिने भएको छ।
यसैगरी, प्रदेशका १३ वटै जिल्ला समन्वय समितिलाई विनियोजित बजेट खर्च गर्ने अख्तियारी दिने निर्णय बैठकले गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि बजेटमा विनियोजन भएका २१ आयोजनाका लागि छुट्याइएको १३ करोड ८२ लाख ८१ हजार रुपैयाँ खर्च गर्ने अख्तियारीसमेत दिइएको छ।
बैठकले बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८३ स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०८३/८४ का लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत आयोजना तथा कार्यक्रम सञ्चालन गर्न १५ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गतको कार्यालयको अस्थायी दरबन्दी स्वीकृत गर्दा छुटेको कम्प्युटर अपरेटरको एक दरबन्दी थप गर्ने निर्णयसमेत भएको प्रवक्ता केसीले जानकारी दिनुभयो।
बैठकले प्रदेश सरकारअन्तर्गत मन्त्रिपरिषद्का तीन वटा विषयगत समिति गठन गर्ने निर्णय पनि गरेको छ।


