Search
Close this search box.

हेटौँडाबाट ठगीको आशङ्कामा तीन जना पक्राउ

हेटौँडा । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशङ्कामा मकवानपुर प्रहरीले हेटौँडाबाट तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा रहेका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, ४३ थान सिमकार्ड र चार थान चेकबुक बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार अपराह्न करिब ४ बजे हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरास्थित रामबहादुर पोखरेलको घरमा डेराकोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरू आपराधिक गतिविधिमा संलग्न रहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा रौतहटको कटहरिया नगरपालिका–८ का १९ वर्षीय अजय कुमार यादव र १९ वर्षीय पवन कुमार दास तथा बौधिमाई नगरपालिका–६ का २१ वर्षीय रोशन राय यादव पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा जारी भएका नागरिकता प्रमाणपत्रका प्रतिलिपि ५२ थान, प्रयोग भइसकेका एनसेलका सिमकार्ड २२ थान, सिलप्याक अवस्थामा रहेका सिमकार्ड २१ थान र अन्य व्यक्तिका नाममा रहेका चेकबुक चार थान बरामद गरेको जनाएको छ।
बरामद सामग्री के प्रयोजनका लागि राखिएको हो भन्ने विषयमा सोधपुछ गर्दा उनीहरूले सिमकार्डको प्रयोग तथा प्राप्तिको स्रोत खुलाउन नसकेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित तीनै जनालाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan