हेटौँडा–१५ मा खेलकुददेखि फिटनेससम्मका कार्यक्रम हुने
हेटौँडा । भोटेकोशी बाढी तथा विपद्मा परी ज्यान गुमाएका हेटौँडा उपमहानगरपालिका–१५ का सुमन गोले र रमेश मगरको स्मृतिमा विभिन्न खेलकुद तथा फिटनेस कार्यक्रम आयोजना हुने भएको छ।
हेटौँडा–१५ वडा कार्यालयले दिवंगत सुमन र रमेशको स्मृतिलाई जीवन्त राख्दै दुःखद घटनाबाट उत्पन्न पीडालाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।
वडाध्यक्ष सुनिल मुक्तानले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै युवालाई खेलकुदसँग जोड्ने, सामाजिक एकता अभिवृद्धि गर्ने तथा अनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्ने उद्देश्य रहेको बताए।
कार्यक्रमअन्तर्गत फुटबल, ब्याडमिन्टन, स्नूकर, शारीरिक सुगठन प्रशिक्षण तथा जुम्बा–फिटनेस सञ्चालन गरिनेछ। शारीरिक सुगठन प्रशिक्षण तथा जुम्बा–फिटनेस असोज २२ देखि २४ गतेसम्म होटल सामनामा हुनेछ।
त्यस्तै, ब्याडमिन्टन प्रतियोगिता असोज २५ देखि २७ गतेसम्म हटिया ब्याडमिन्टन कभर्ड हलमा तथा स्नूकर प्रतियोगिता असोज ३० देखि कात्तिक १४ गतेसम्म सञ्चालन हुनेछ। फुटबल प्रतियोगिता भने कात्तिक १२ देखि २१ गतेसम्म गौरीटार रंगशालामा आयोजना गरिनेछ।
वडाका अनुसार असोज २६ र २९ गते सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ। विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कारको व्यवस्था गरिएको छ।
कार्यक्रम सञ्चालनका लागि शारीरिक सुगठन तथा जुम्बा–फिटनेसतर्फ सुनिल लोप्चन, ब्याडमिन्टनतर्फ बाबुराम वाइबा, स्नूकरतर्फ प्रीतम राना र फुटबलतर्फ गोविन्द नेगीलाई संयोजकको जिम्मेवारी दिइएको छ। हेटौँडा–१५ को खेलकुद विकास समितिको संयोजकको जिम्मेवारी भने वडाध्यक्ष मुक्तानले सम्हाल्नेछन्।


