Search
Close this search box.

बाढीमा बेपत्ता छोराको काजकिरिया गर्न खर्च जुटाउन नसकेका ७० वर्षीय बाबुराम

भोटेकोशी बाढीमा बेपत्ता छोराको काजकिरिया गर्न खर्च जुटाउन नसकेका ७० वर्षीय बाबुराम

हेटौँडा । रसुवाको भोटेकोशीमा आएको बाढीमा २५ वर्षीय छोरा प्रदीप बेपत्ता भएको ४७ दिन बितिसक्दा पनि हेटौँडा–५ का ७० वर्षीय बाबुराम सापकोटाले न छोराको शव भेटेका छन्, न काजकिरिया गर्ने खर्च जुटाउन सकेका छन्। आर्थिक अभाव र शारीरिक अशक्ततासँग जुधिरहेका उनी छोराको अन्त्येष्टि संस्कारका लागि सहयोग माग्दै हिँडिरहेका छन्।

बेपत्ता छोराको शव नभेटिएपछि पुरेतले कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गर्न सुझाव दिएका छन्। तर आर्थिक अवस्था कमजोर भएकाले बाबुरामलाई काजकिरियाको खर्च जुटाउनसमेत कठिन भएको छ। सोमबार उनी सहयोगको अपेक्षासहित जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेका थिए।

‘कमाइ गर्ने छोरा भोटेकोशीको बाढीमा बेपत्ता भयो। पुरेतले कुशको शव बनाएर काजकिरिया गर्न भनेका छन्। खर्च नभएपछि के गर्ने भन्ने भएको छ,’ बाबुरामले भने।

घरमा एक पैसा पनि नभएको र राहतसमेत नपाएको उनले बताए। रुखबाट लडेर उनको दाहिने खुट्टा भाँचिएको छ। दमका रोगी बाबुराम कानसमेत राम्रोसँग सुन्दैनन्। यस्तो अवस्थामा छोराको काजकिरिया गर्ने खर्च जुटाउन नसकेपछि उनले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसँग सहयोग मागेका हुन्।

‘पछि पाउने राहत रकमबाट कट्टा हुने गरी काजकिरिया गर्न केही रकम उपलब्ध गराइदिन अनुरोध गरेँ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी अधिकारीले हेटौँडा उपमहानगरपालिका–५ का वडाध्यक्षलाई राहत रकम प्राप्त भएपछि कट्टा हुने गरी सहयोग उपलब्ध गराउन अनुरोध गरेका छन्। वडाध्यक्ष सुशील घिमिरेले तत्काल २० हजार रुपैयाँसम्म सहयोग गर्न सकिने बताएका छन्।

सरकारले विपद्का घटनामा बेपत्ता भई शव नभेटिएकालाई ४५ दिनपछि मृत घोषणा गर्ने निर्णय गरेको भए पनि आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने र आफन्तले पाउने राहत रकमसमेत यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

६ महिनाअघि मात्रै बाबुरामका जेठा छोरा प्रदीप मजदुरी गर्न रसुवा गएका थिए। उनी त्यहाँ निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्थे। भदौ ९ गते साँझ प्रदीपले आमा यमकुमारीसँग दसैँमा घर फर्किने बताएका थिए।

‘दसैँमा आउँछु भनेको छोराको अत्तोपत्तो नै छैन,’ यमकुमारीले भनिन्, ‘बुढेसकालमा यस्तो आपत् आइलाग्यो।’

बाबुरामका दुई छोरामध्ये प्रदीप जेठा हुन्। कान्छो छोरा हेटौँडामै पढिरहेका छन्। परिवारको आर्थिक अवस्था कमजोर छ। लामो समयसम्म बेपत्ताको शव नभेटिएपछि भोटेकोशी बाढीमा प्रभावित भएका अधिकांश परिवारले कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरिसकेका छन्। तर सापकोटा परिवार भने आर्थिक अभावका कारण काजकिरिया गर्नसमेत असमर्थ बनेको छ।
मकवानपुरका ५८ जना अझै सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालय मकवानपुरको विवरणअनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि मकवानपुरका ५८ जना अझै सम्पर्कविहीन छन्।

प्रशासनका अनुसार थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका चार, मकवानपुरगढी गाउँपालिकाका तीन, भीमफेदी गाउँपालिकाका दुई, बकैया गाउँपालिकाका तीन, इन्द्रसरोवर गाउँपालिकाका दुई, कैलाश गाउँपालिकाका दुई र राक्सिराङ गाउँपालिकाका एक जना सम्पर्कविहीन छन्। भीमफेदीका एक जनाको मृत्यु भएको पनि प्रशासनले जनाएको छ। बागमती गाउँपालिकामा भने बाढीबाट प्रभावित भएको विवरण छैन।

सम्पर्कविहीन भएकामध्ये ४१ जना चालक, १५ जना मजदुर, एक जना नेपाली सेनाका जमदार र एक जना इन्जिनियर रहेको प्रशासनको तथ्यांक छ।

बाढीमा फसेका मकवानपुरका ४५ जनालाई रसुवा र नुवाकोटका विभिन्न क्षेत्रबाट उद्धार गरिएको थियो। बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भइसकेको छ। उनीहरूका आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन्।

प्रशासनका अनुसार मृत्यु पुष्टि भएका व्यक्तिमा हेटौँडा–१५ का सुमन गोले, हेटौँडा–५ का उद्धव खड्का, हेटौँडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan