हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१० मेनरोडस्थित सडक छेउको पुरानो घरको जगमा रहेको इँटा निकाल्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान ७:२५ बजे भएको घटनामा हेटौँडा–१० पूर्वेलीटोल निवासी ४५ वर्षीय किरण राना मगरको मृत्यु भएको हो। घटनामा मनहरी गाउँपालिका–६ निवासी २७ वर्षीय रोशन श्रेष्ठ घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घरको जगमा रहेको इँटा निकाल्ने क्रममा माथिबाट माटो खसेर दुवै जना पुरिएका थिए। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले किरण राना मगरलाई ६ बजे मृत घोषणा गरेका थिए। घाइते रोशन श्रेष्ठको कम्मरमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
उक्त घर घरधनी उवार्सी श्रेष्ठको रहेको र उनी हाल न्युजिल्यान्डमा बस्दै आएको प्रहरीले जनाएको छ। करिब १५ वर्षदेखि हेटौँडा–११ निवासी बसन्त कप्रौलाले घर भाडामा लिँदै आएका थिए। आफ्नो घर निर्माणका लागि इँटा निकाल्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

