मकवानपुर । छठ पर्वको खुसी साट्न कर्मभूमि काठमाडौंबाट जन्मभूमि सर्लाही फर्किंदै थिए उनीहरू । घरपरिवारसँग पर्व मनाउने सपना बोकेर निस्किएको यात्रा मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा पुगेर सदाका लागि टुंगियो । बिहीबार बिहान भएको ईभी दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाको ज्यान गयो । सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, सुन्दरपुरका उनीहरूको घर फर्किने खुसी क्षणभरमै शोकमा बदलियो । दुर्घटनाले सबैभन्दा ठूलो चोट अवधेशकुमार यादवको परिवारमा पुर्यायो । उनले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गरी परिवारका ६ सदस्य गुमाए । १४ महिनाका छोरा पनि दुर्घटनामा घाइते भए । उनको काठमाडौंमा उपचार भइरहेको छ । परिवारका सदस्य गुमाएको असह्य पीडाबीच स्वास्थ्यमा समस्या देखिएपछि अवधेश स्वयंसमेत हेटौंडा अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुपरेको थियो । हेटौंडा अस्पतालमा आफन्तका शव थिए । तर, पीडित परिवारका लागि त्यो केवल शव बुझ्ने र अन्तिम संस्कार गर्ने विषय थिएन । दुर्घटनाले उनीहरूको वर्तमान मात्र होइन, भविष्यसमेत अन्योलमा पारेको थियो । परिवारको मुख्य आधार गुमेपछि बालबालिकाको शिक्षा, पालनपोषण र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको थियो । यही चिन्ताका बीच मृतकका आफन्तले राहत र पुनःस्थापनाको माग अघि सारे । प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति, दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा तथा पालनपोषणको जिम्मेवारी र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग थियो । साथै दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने अडान राख्दै उनीहरूले शव परीक्षण र शव बुझ्ने प्रक्रिया रोके । आफन्तको अडानपछि प्रशासनमाथि माग सम्बोधनका लागि दबाब बढ्यो । मधेश प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव, चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादव र मृतकका आफन्तसहितको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छलफल गरेको थियो । टोलीले सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसमक्ष पीडितका माग राखेको थियो ।
छलफलपछि प्रशासनले पीडितका माग दुर्घटना छानबिन समितिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्याएर सम्बोधनका लागि पहल गर्ने आश्वासन दियो । सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने प्रशासनको प्रतिबद्धतापछि आफन्त शव बुझ्न तयार भए । तर, पीडितका माग कार्यान्वयन गर्ने विषयमा ठोस लिखित सहमति भने हुन सकेन । क्षतिपूर्ति, बालबालिकाको शिक्षा तथा पालनपोषण र रोजगारीको सुनिश्चितताबिनै प्रशासनको आश्वासनलाई विश्वास गरेर आफन्तले शव बुझे । करिब ३६ घण्टासम्म हेटौंडा अस्पतालमा रहेका शव लिएर उनीहरू सर्लाही फर्किए । दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये चालकको शव परिवारले यसअघि नै बुझिसकेको थियो । बाँकी १३ जनाको शव अस्पतालमै राखिएको थियो । अस्पतालको शवगृहमा एकपटकमा चारवटा शव मात्र राख्न सकिने भएकाले सबै शव एकैपटक राख्दा व्यवस्थापनमा समेत कठिनाइ भएको थियो ।
शव बुझ्ने सहमतिसँगै तत्कालको अन्योल हटे पनि पीडित परिवारको मुख्य चिन्ता भने यथावत् छ । आफन्तको अन्तिम संस्कारपछि उनीहरू फेरि त्यही प्रश्नसँग जुध्नुपर्नेछ,परिवारका सदस्य गुमाएपछि बाँकी जीवन कसरी चलाउने ? घाइते बालबालिकाको भविष्य कसले सुनिश्चित गर्ने ? र, दुर्घटनामा भएको क्षतिको जिम्मेवारी कसले लिने ?
मधेश प्रदेशसभा सदस्य एवं पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवका अनुसार दुर्घटनामा मृत्यु भएका १३ जनाको सर्लाहीमा एकै स्थानमा सामूहिक दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनकै नेतृत्वमा हेटौंडा आएको टोलीले मृतकको पारिवारिक रीतिरिवाजअनुसार अन्तिम संस्कारका लागि आवश्यक तयारी अघि बढाएको छ ।
चिसापानीगढीको दुर्घटनाले १४ जनाको ज्यान लियो । तर, त्यसको असर मृतकका परिवारमा मात्र सीमित छैन । परिवारका कमाउने सदस्य गुमाएका बालबालिकाको भविष्य, आश्रित परिवारको जीविकोपार्जन र पीडितले न्याय पाउने विषय अब राज्यको जवाफदेहितासँग जोडिएको छ । आफन्त शव लिएर गाउँ फर्किएका छन्, तर उनीहरूले उठाएका माग पूरा हुने कि नहुने भन्ने प्रश्नको जवाफ भने प्रशासनको सातदिने आश्वासनले मात्र दिन सक्दैन ।

