Search
Close this search box.

भीमफेदी दुर्घटना : १३ शव सर्लाही पठाइयो, आजै सामूहिक दाहसंस्कार

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ। हेटौँडा अस्पतालमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तको जिम्मा लगाइएको हो।
अस्पतालका अनुसार १३ जनाकै शव तीनवटा शववाहनमार्फत सर्लाही पठाइएको छ। मृतक सबैको एकै स्थानमा सामूहिक रूपमा दाहसंस्कार गर्ने तयारी गरिएको छ।
मधेस प्रदेशसभा सदस्य तथा पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवको नेतृत्वमा सर्लाहीबाट हेटौँडा आएको टोलीले मृतकको पारिवारिक रीतिरिवाजअनुसार अन्तिम संस्कारको तयारी गरेको हो।
यसअघि मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र घाइतेको उपचारको व्यवस्था गर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए। पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने उनीहरूको माग थियो।
पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि शव बुझाउने प्रक्रिया अघि बढेको हो।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन सरकारले पहल गर्ने सहमति भएको छ। थप राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्ने सहमति पनि भएको छ।
सहमति जुटेसँगै पोस्टमार्टम शव परीक्षण प्रक्रिया पूरा गरी सबै शव आफन्तलाई हस्तान्तरण गरिएको हो।
बिहीबार बिहान भएको दुर्घटनामा एकै गाउँका १३ जनाको ज्यान गएपछि सर्लाहीको सुन्दरपुर शोकमा डुबेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan