हेटौंडा – यहि बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागी पाँच दलिय गठबन्धन हेटौंडा ९ मा संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
वडाको भैतिक पुर्वाधारदेखि वडावासीको आर्थिक र सामाजिक सम्बृद्धिमा हातेमाले गर्दै काम गर्ने प्रतिवद्धताका साथ गठबन्धनले प्रतिवद्धता सार्वजनिक गरेको हो ।
प्रतिवद्धता पत्रमा विकासका गतिविधिसँगै महिला तथा बालबालिका र जेष्ठ नागरिककाको स्वास्थ्य सेवामा जोड दिइएको छ भने बालबालिका र विद्यार्थीहरुको शिक्षालाई प्राथमिकता दिइएको छ । जेष्ठ नगरिकहरुका लागी घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा, औषधि, जेष्ठ नागरिक र सुत्केरीका लागी एम्बुलेन्स सेवा, महिलाहरुका लागी निशुल्क सेनेटरी प्याड उपलब्ध गराउँने उल्लेख गरिएको छ ।
यस्तै वडा भित्रका सामुदायीक विद्यालयहरुबाट उतीर्ण जेहेन्दार, आर्थिक तथा शारिरिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई उच्च शिक्षामा विशेष सहयोग, युवा लक्षित स्वरोजगार तालिम, खेलकुद प्रवर्धन कार्यक्रम गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
गठबन्धनका तर्फबाट ९ नम्बर वडा अध्यक्षका उम्मेदवार सुकराम केसीले जनप्रतिनिधिका रुपमा आफुले पाँच बर्ष गरेको सेवा अनुभवबाट नेतृत्व गर्दै गठबन्धनका दल र वडावासीहरुको चाहाना अनुसार काम गर्न आफु प्रतिवद्ध रहेको बताए ।
उनले आफुहरुले गर्न सक्ने काम मात्रै प्रतिवद्धता पत्रमा समेटेको उल्लेख गर्दै वडावासीको चाहाना अनुसार काम गर्ने स्पष्ट पारे ।


