Search
Close this search box.

हेटौँडामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो


हेटौँडा । आस्था, श्रद्धा र भक्तिको पर्व छठ मकवानपुरको हेटौँडामा पनि धुमधामका साथ मनाइएको छ। छठपर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले राप्ती नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा–आराधना गरेका छन्।
छठपूजाका लागि हेटौँडाको राप्तीतटमा आकर्षक रूपमा सजाइएका छठघाटमा दिनभर नै व्रतालु तथा श्रद्धालु भक्तजनको चहलपहल देखिएको थियो। साँझपख सूर्यलाई अर्घ्य दिन नदी किनारमा भक्तजनको उल्लेख्य भीड लागेको थियो।
व्रतालुहरूले दिनभर निर्जल तथा निराहार व्रत बसेर साँझ बाँसको सुपली र टोकरीमा फलफूल, ठेकुवा, कसार, नरिवललगायत पूजाका सामग्री सजाई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। पारिवारिक सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामनासहित सूर्यदेव तथा छठी माताको आराधना गरिएको थियो।
धार्मिक आस्थासँगै सामाजिक एकता र सद्भावको पर्वका रूपमा समेत परिचित छठमा विभिन्न समुदायका मानिसको सहभागिता देखिएको थियो। नदी किनारमा एकै ठाउँ भेला भएर पूजा आराधना गर्दा आपसी भाइचारा र सांस्कृतिक सहअस्तित्वको सन्देशसमेत प्रवाह भएको थियो।
चार दिनसम्म मनाइने छठपर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् रूपमा समापन हुनेछ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan