हेटौँडा । सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो । छठ पर्वको मुख्य दिन आज साँझ मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा हजारौँ श्रद्धालु भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारीमा छन् ।
छठ पूजालाई व्यवस्थित र भव्य बनाउन हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदी किनारमा आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ । संयुक्त मधेसी सेवा समाज नेपाल मकवानपुर र छठ पूजा समारोह समितिको आयोजनामा हुने पूजाका लागि राप्ती तटमा ७ सय फिट लम्बाइ र २० फिट चौडाइको पण्डाल निर्माण गरिएको छ । पूजास्थलमा घाट व्यवस्थापन, सरसफाइ, सजावटलगायतका काम सम्पन्न भइसकेको संयुक्त मधेसी सेवा समाज नेपाल मकवानपुरका सचिव तथा छठ पूजा व्यवस्थापन समितिका सचिवालय प्रमुख नन्दलाल दासले जानकारी दिए ।
पछिल्ला वर्षमा हेटौँडामा छठ पर्वप्रतिको आकर्षण बढ्दै गएको छ । यस वर्ष पूजामा ५० देखि ६० हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहने अनुमान गरिएको दासले बताए । भक्तजनको बढ्दो चापलाई ध्यानमा राख्दै पूजास्थल विस्तार गर्नुका साथै आवागमन, सुरक्षा र स्वास्थ्य सेवाका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको आयोजकले जनाएको छ ।
छठको मुख्य दिन आज साँझ व्रतालुहरूले नदी तथा जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् । त्यसपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ । छठ पर्वका लागि हेटौँडाको राप्ती तटमा स्टलको साथै पार्किङको पनि व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । मधेसी समुदायको उल्लेख्य बसोबास रहेको हेटौँडामा पछिल्लो समय छठ पर्व सबै समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदै गएको छ । छठले तराई, मधेस, पहाड र हिमाललाई जोड्ने काम गरेको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले बताइन् । उनले छठ पर्व कुनै एक समुदायको मात्र नभई सिंगो मुलुकको साझा पर्वका रूपमा विकास हुँदै गएको उल्लेख गरिन् । धार्मिक तथा पौराणिक मान्यताअनुसार महाभारतमा समेत सूर्यदेवको आराधनासम्बन्धी प्रसंग उल्लेख गरिएको छ । लोकविश्वासअनुसार पाण्डवहरू अज्ञातवासमा रहँदा द्रौपदीले सूर्यदेवको उपासना गरी संकटबाट मुक्ति र सफलता प्राप्तिको कामना गरेकी थिइन् । यही मान्यतासँग जोडेर छठ पर्व मनाउने परम्परालाई व्याख्या गर्ने गरिएको छ ।
सूर्यलाई ऊर्जा, जीवन र प्रकृतिको आधार मानेर मनाइने छठ पर्वमा व्रतालुहरूले कठोर उपवास बसी सूर्यदेव र छठी माताको पूजा गर्ने गर्छन् । पारिवारिक सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्दै मनाइने यो पर्व पछिल्लो समय धार्मिक आस्था र परम्परासँगै सामाजिक सद्भाव तथा सांस्कृतिक एकताको प्रतीकका रूपमा समेत स्थापित हुँदै गएको छ ।

