Search
Close this search box.

बाटुलो जून;दृश्यमा सुन्दर, कथामा अधुरो प्रेमको यात्रा


हेटौँडा । प्रेम,विछोड र प्रतीक्षाको कथा समेटिएको फिल्म ‘बाटुलो जून’ ले दर्शकलाई चार दशकअघिको ग्रामीण परिवेशमा पुर्‍याउँछ। भुवन केसी निर्देशित तथा सामीप्यराज तिमल्सेना लिखित फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा छन्। ग्रामीण जीवनशैली, दृश्य संयोजन र संगीत फिल्मका आकर्षक पक्ष हुन्। तर कथावस्तु र पात्रहरूको सम्बन्ध विकासमा भने फिल्म कमजोर देखिन्छ।
फिल्मले तत्कालीन ग्रामीण समाजको रहनसहन, शिक्षा र जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको छ। माटोका घर, ढिकी, रोटेपिङ, लालटिनको उज्यालो र नदीका दृश्यले पुरानो समयको झल्को दिन्छन्। प्राकृतिक प्रकाश र रङ संयोजनले दृश्यलाई जीवन्त बनाएका छन्। गाउँमा शिक्षाको उज्यालो फैलाउन खोज्ने शिक्षक काजी र जूनको सम्बन्धसँगै फिल्मको कथा अघि बढ्छ।
फिल्मको पहिलो भाग शान्त र धैर्यपूर्ण छ। काजी र जूनको भेट तथा सम्बन्ध विस्तारले कथालाई रोचक बनाउँछ। तर उनीहरूको प्रेम सम्बन्ध स्थापित गर्न आवश्यक भावनात्मक दृश्यहरू पर्याप्त छैनन्। गीत र केही संवादबाटै उनीहरू प्रेममा परेको बुझ्नुपर्ने अवस्था छ।

मध्यान्तरपछि विगत र वर्तमानलाई जोडेर कथा अघि बढाइन्छ। तर यहीँबाट फिल्मको पटकथा कमजोर देखिन थाल्छ। अस्वाभाविक संयोग र अप्रत्याशित घटनाले कथाको स्वाभाविकता प्रभावित बनाएका छन्। विगतको प्रेम र वर्तमानका पात्रबीच पर्याप्त भावनात्मक सम्बन्ध स्थापित नहुँदा कथाले अपेक्षित संवेदना दिन सक्दैन।
चार दशकअघिको समय देखाउन फिल्मले पहिरन, घर र अन्य सामग्रीमा ध्यान दिएको छ। तर त्यसबेलाको सामाजिक तथा राजनीतिक परिवेशलाई कथामा पर्याप्त स्थान दिइएको छैन। शिक्षा र वर्गीय विभेदको विषय उठाइए पनि त्यसको सामाजिक पाटोलाई गहिराइमा प्रस्तुत गर्न सकिएको छैन। द्वन्द्व सिर्जना गर्ने खलपात्रहरूको चरित्र पनि प्रभावकारी छैन।
अभिनयमा अनमोल केसीको बाह्य स्वरूप र पहिरन काजीको भूमिकामा सुहाएको छ। तर संवाद प्रस्तुति र शारीरिक हाउभाउमा अझै स्वाभाविकता आवश्यक देखिन्छ। जूनको भूमिकामा प्रिन्सी खतिवडाको अभिनय भने सहज छ। उनको लवज र हाउभाउले ग्रामीण परिवेशलाई आत्मसात् गरेको छ। सुरुवाती फिल्ममै उनले देखाएको सम्भावना प्रशंसनीय छ। रेयर राईको अभिनय पनि स्वाभाविक छ।

काजीको परिपक्व उमेरको भूमिकामा स्वयं भुवन केसी देखिएका छन्। अनुहार र शारीरिक बनोटमा युवावस्थाको काजीसँग सामञ्जस्य भए पनि आवाज र संवाद शैलीमा केही अस्वाभाविकता देखिन्छ। गरिमा पन्तको पुनरागमन पनि फिल्मको अर्को आकर्षण हो। तर युवावस्थाको जून र परिपक्व उमेरकी जूनबीच हाउभाउ र संवाद प्रस्तुतिमा निरन्तरता देखाउन सकिएको छैन।
प्राविधिक पक्षमा भने फिल्मले राम्रो मिहिनेत गरेको छ। छायांकन, रङ संयोजन, प्राकृतिक प्रकाश र लोकेसनको छनोट प्रशंसनीय छन्। संगीतले कथाको भावनात्मक वातावरणलाई साथ दिएको छ। सम्पादनमा हतार देखिँदैन। निर्देशकले दृश्यलाई पर्याप्त समय दिएका छन्, जसले फिल्मको शान्त शैलीलाई कायम राखेको छ। तर कतिपय ठाउँमा यही सुस्त गतिले कथाको प्रवाहलाई प्रभावित बनाएको छ।
समग्रमा ‘बाटुलो जून’ दृश्यात्मक सौन्दर्य र पुरानो ग्रामीण परिवेशको पुनर्निर्माणमा सफल देखिन्छ। भुवन केसीले प्रेमकथालाई फरक समय र परिवेशमा प्रस्तुत गर्ने प्रयास गरेका छन्। तर कमजोर पटकथा, अपर्याप्त चरित्र विकास र अस्वाभाविक घटनाक्रमले फिल्मको प्रभाव घटाएका छन्। फिल्मका दृश्यले दर्शकको मनमा ठाउँ बनाउन सक्छन्, तर कथा भने अपेक्षित रूपमा गहिरो छाप छाड्न सक्दैन।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan