हेटौंडा-५ पिप्ले रंगशालामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको ३४ औं मिनेटमा पुलिसका भरत शाहले गरेको गोल निर्णायक गोल बन्यो । मनाङ मस्र्याङदीले खेलको ४१ औं मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न सकेन । पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मनाङका कप्तान अञ्जन विष्टले गरेको प्रहार बचाएका थिए ।
पुलिसका खेलाडी हेम तामाङले खेलको अन्तिम समयमा रातो कार्ड पाएका थिए । रेफ्रिको निर्णयप्रति असहमति जनाएपछि प्रशिक्षक अनन्तराज थापा र बेञ्चमा रहेका खेलाडी हेमन्त श्रेष्ठलाई पनि दोहोरो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो । पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्बल सिमराबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि,हिजो भएको खेलमा विभागीय टोली त्रिभुवन नेपाल आर्मी सेमिफाईनल प्रवेश गरिसकेको छ । सोमबार भएको खेलमा नेपाल एपीएफलाई ट्राइबेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै आर्मी सेमिफाईनलमा प्रवेश गरेको हो । आर्मीले फाइनल प्रवेशको लागि चर्च ब्वाइज क्लब र एभेनिर एफसी, क्यामरुन बीचको विजेतासँग खेल्नेछ।
३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

