Search
Close this search box.

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति

हेटौंडा । रसुवा–भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ। राष्ट्रिय योजना आयोगको सर्वेक्षणअनुसार बाढीबाट चार जिल्लाका ३२ हजार ८७२ जना प्रभावित भएका छन् भने २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ। कुल ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएको सर्वेक्षणमा उल्लेख छ।
जिल्लागत रूपमा नुवाकोटमा सबैभन्दा बढी ३ हजार ८४१ घरपरिवार प्रभावित भएका छन्। रसुवामा १ हजार ९२०, धादिङमा ९४८ र गोरखामा १०८ घरपरिवार प्रभावित भएका छन्।
बाढीबाट सबैभन्दा बढी क्षति जग्गाजमिनमा पुगेको छ। तीन हजार ६१० परिवारको ५०७.९७ हेक्टर जग्गामा क्षति पुगेको छ, जसको प्रारम्भिक मूल्याङ्कन ३५ अर्ब ४४ करोड रुपैयाँ गरिएको छ। यस्तै, घरको घडेरीमा १३ अर्ब २६ करोड र घर निर्माण लागतमा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
कुल ४ हजार १५१ क्षतिग्रस्त भवन संरचनामध्ये २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा नष्ट भएका छन्। त्यस्तै, ३ हजार १९४ संरचना पुनःप्रयोग गर्न नसकिने अवस्थामा रहेको सर्वेक्षणले देखाएको छ।
बाढीले कृषि उत्पादन र जीविकोपार्जनमा समेत असर पारेको छ। खेतबारीको बालीमा २३ करोड २१ लाख, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख तथा पशुपन्छी र माछामा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। परिवारले प्रयोग गर्ने सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।
व्यवसाय तथा प्रतिष्ठानतर्फ थोक तथा खुद्रा व्यापार सबैभन्दा बढी प्रभावित भएको छ। यस क्षेत्रमा ७७४ प्रतिष्ठान प्रभावित भएका छन्। आवास तथा खाद्य सेवा क्षेत्रका ३३७, कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १६६ र अन्य सेवा क्षेत्रका १३६ प्रतिष्ठानमा असर परेको छ।
बाढी प्रभावित परिवारको पुनःस्थापनासमेत चुनौतीपूर्ण देखिएको छ। सर्वेक्षणमा समेटिएका ३ हजार ६७ परिवारमध्ये ७९७ परिवारले बाढीअघि बसोवास गरिरहेको स्थानमै फर्कन चाहेका छन्। सरकारले उपलब्ध गराउने स्थानमा बस्न चाहने ९३९ र सरकारी सामूहिक आवासमा बस्न चाहने ५९० परिवार छन्।
राष्ट्रिय योजना आयोगले चार जिल्ला र १५ स्थानीय तहमा ५८ टोली तथा १५६ जनशक्ति परिचालन गरी सर्वेक्षण गरेको जनाएको छ। अनलाइन एप र ट्याब्लेटमार्फत विवरण सङ्कलन गरिएको उक्त सर्वेक्षणमा ७ हजार ३१६ घरपरिवार, व्यवसाय तथा प्रतिष्ठानको विवरण समेटिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan