Search
Close this search box.

हेटौंडामा लागूऔषध नियन्त्रण र महिला क्षति न्यूनीकरणबारे समन्वय बैठक


हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा लागूऔषध नियन्त्रण तथा महिला क्षति न्यूनीकरणसम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओली, नगर प्रवक्ता तथा १ नम्बर वडाध्यक्ष सविन न्यौपाने,सिआन महिमा पुनर्स्थापना केन्द्र संचालक तन्या अग्रवाल, सिआन पुरुष पुनर्स्थापना केन्द्र संचालक सौजन डिसीसहित विभिन्न महाशाखा तथा शाखा प्रमुख र सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
सिआन पुनर्स्थापना केन्द्रको महिला क्षति न्यूनीकरण परियोजनाअन्तर्गत आयोजित बैठकमा लागूऔषध नियन्त्रण, महिला लक्षित कार्यक्रम तथा सरोकारवाला निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
बैठकमा सिआन पुनर्स्थापना केन्द्रका प्रमुख सञ्चालन अधिकृत मनिषमान श्रेष्ठले केन्द्र तथा परियोजनामार्फत विगत वर्षमा सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि, प्रगति विवरण र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए । उनले लागूऔषध प्रयोगबाट प्रभावित व्यक्ति तथा महिलाको स्वास्थ्य, सुरक्षा र अधिकार संरक्षणसँगै उपचार, पुनर्स्थापना तथा सामाजिक पुनःएकीकरणका लागि स्थानीय सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए ।
‘लागूऔषध नियन्त्रण समिति गठन कार्यविधि २०७६’ नगर प्रमुख, उपप्रमुख, नगर प्रवक्ता तथा प्रमुख प्रशासकीय अधिकृतसमक्ष हस्तान्तरण गरिएको थियो । कार्यविधिअनुसार समिति गठनका लागि आवश्यक पहल र समन्वय गर्न आग्रह गरिएको थियो।
स्थानीय तहको नेतृत्वमा सरकारी निकाय, स्वास्थ्य संस्था, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थालाई समेटेर लागूऔषध नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा बैठकमा जोड दिइएको थियो ।
लागूऔषध नियन्त्रणलाई कानुनी तथा सुरक्षा चुनौतीका रूपमा मात्र नभई सार्वजनिक स्वास्थ्य, मानव अधिकार र सामाजिक विकाससँग जोडेर अघि बढाउनुपर्ने विषयमा समेत छलफल भएको थियो । सियान पुनर्स्थापना केन्द्रले उपमहानगरपालिका तथा सम्बन्धित निकायसँगको सहकार्यमा जनचेतना, रोकथाम, उपचार, पुनर्स्थापना र महिला क्षति न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan