Search
Close this search box.

चक्रवात अर्णवको प्रभावले भारी वर्षाको जोखिम, मकवानपुरमा सतर्कता अपनाउन आग्रह


हेटौँडा । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभावले मकवानपुरसहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मंगलबार सूचना जारी गर्दै प्रशासनले आगामी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना रहेको जनाएको हो। वर्षाका कारण नदी तथा खोलामा बाढी, डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने प्रशासनले जनाएको छ।
प्रशासनले किसानलाई धानबाली तथा अन्य कृषि उपज सुरक्षित राख्न, नदी तथा खोला किनारमा नजान र जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। त्रिभुवन राजपथ, कान्तिलोकपथ र हेटौँडा–काठमाडौं छोटो मार्गलगायत सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न पनि अनुरोध गरिएको छ।
स्थानीय तहलाई विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राख्न तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन प्रशासनले निर्देशन दिएको छ। साथै, सुरक्षा निकायलाई उद्धार टोली र सामग्रीसहित २४ सै घण्टा तयारी अवस्थामा रहन भनिएको छ।
विपद्सम्बन्धी आधिकारिक सूचना मात्र लिन आग्रह गर्दै प्रशासनले आपत्कालीन अवस्थामा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको नम्बर ११२३४, नेपाल प्रहरीको १०० र बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan