Search
Close this search box.

भोटेकोशी बाढीमा बेपत्ता घनश्यामको कुशको शव बनाएर अन्तिम संस्कार


मकवानपुर । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका हेटौँडा उपमहानगरपालिका–३ का कन्टेनर चालक घनश्याम बस्नेतको परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

परिवारले सोमबार हेटौँडा–१० स्थित राप्ती नदीकिनारमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरेको हो। ‘मिलन’ नामले चिनिने बस्नेत रसुवागढी नाकाबाट सामान जाँचपास गरी फर्कने क्रममा भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए। उनी मधेश प्रदेश ०२ ख ८०४१ नम्बरको कन्टेनर चलाउँथे।

लामो समयसम्म उनको अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको मृतकका काका इन्द्रमानसिं बस्नेतले जानकारी दिए।

घनश्यामको परिवारमा आमा, श्रीमती र छोरी छन्। परिवारका मुख्य आर्थिक आधार रहेका उनी बेपत्ता भएपछि परिवार आर्थिक संकटमा परेको छ। उनको अवस्थाबारे कुनै निश्चित जानकारी नआउँदा परिवार लामो समयदेखि अन्योलमा थियो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार भदौ १० गते रसुवामा आएको बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानुनी अवस्था टुंग्याउन विवरण संकलन तथा प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ।

अन्तिम संस्कार गरिसकेका परिवारसहित बेपत्ता व्यक्तिका विवरण यकिन गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी प्रशासनले गरेको छ। बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा पीडित परिवारले अन्योल र मानसिक पीडा भोग्दै आएका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan