Search
Close this search box.

बजेट निर्माणमा राक्सिराङले गर्यो सर्वपक्षीय अन्तरक्रिया

हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्देश्यका साथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तरक्रिया गरेको छ । गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, गैरसरकारी संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, समाजसेवी, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलगायत आम सरोकारवालाको सहभागितामा आइतबार आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने विषयको बारेमा सुझाव संकलन गरिएको हो ।

जनताले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिको सहभागितामा हुने गाउँसभाबाट गाउँको नीति तथा कार्यक्रम र बजेट निर्माण र पारित गर्ने व्यवस्था भएता पनि गाउँको नीति तथा कार्यक्रम र बजेटलाई अझै धेरै जनपक्षीय बनाउँदै आम गाउँबासीले अपनत्व गर्नसक्ने बनाउनको लागि सर्वपक्षीय अन्तरक्रियामार्फत सुझाव संकलन गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

गाउँपालिकाका अध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिका स्थायी निवासीसमेत रहेका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले गाउँको नीति तथा कार्यक्रम र बजेट बनाउँदा सर्वपक्षीय छलफलमार्फत गाउँको सुझाव संकलन गरिनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । आम गाउँबासीको भावना र आवश्यकतालाई समेटेर गाउँपालिकाले बजेट र नीति तथा कार्यक्रम बनाउनु आवश्यक रहेको उनले औंल्याए ।

अति सिमान्तकृत र विपन्न चेपाङ जातिको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङसहितका क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्ने नीति बागमती प्रदेश सरकारले ल्याइसकेको सुनाउँदै राज्यमन्त्री प्रजाले चेपाङ संरक्षित क्षेत्रको बारेमा कानुन बन्ने प्रक्रियामा रहेको सुनाए । धादिङ, चितवन र मकवानपुरका चेपाङ बाहुल्य क्षेत्र रहेको स्थानलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने बागमती प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिइसकेको छ ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृृत देवचन्द्र गर्तौलाले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याएका थिए भने उपाध्यक्ष वनस्तम थिङले आम गाउँबासीको भावनालाई समेट्ने गरी सर्वपक्षीय अन्तरक्रियाको आयोजना गरिएको बताए । सबैको सल्लाह सुझावलाई समेट्दै आगामी वर्षको बजेट बनाउने पनि उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापा, नेकपा एमाले राक्सिराङ गाउँपालिका ईञ्चार्ज बाबुलाल स्याङ्तान, नेपाली कांग्रेस राक्सिराङका सभापति विरेन्द्र जिम्बा, नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका अध्यक्ष हस्तबहादुर मोक्तान, नेकपा एकीकृत समाजवादी राक्सिराङका अध्यक्ष ज्ञानेन्द्र तामाङलगातले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी राक्सिराङ उपसभापति चित्रबहादुर थिङ, खानेपानी तथा सरसफाई महासंघ केन्द्रीय सदस्य बद्री देवकोटा, गैससकर्मी विष्णुमान चेपाङ, देवकुमार प्रजा, दिपेन्द्र पाठक, सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ अध्यक्ष केशव भारती, खेलकुद विकास समिति राक्सिराङ अध्यक्ष थलबहादुर थापा, स्थानीय समाजसेवी विपीमाया मोक्तानलगायत सरोकारवालाहरुले क्षेत्रगत रुपमा बजेट र नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयबारे सुझाव राखेका थिए ।

सबैको सुझाव सुनिसकेपछि गाउँपालिका अध्यक्ष राजकुमार मल्लले छलफल र अन्तरक्रियाबाट आएका विषयलाई सम्बोधन गर्दै आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिवद्धता जनाए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan