Search
Close this search box.

मकवानपुर गोल्डकपको उपाधि आर्मी क्लबलाइ

हेटौंडामा जारी स्थानीय तह शहीद  स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि बिभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेकोे छ । हेटौंडा–५ स्थित, पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली एफसी विजय युथलाई २–१ गोलअन्तरले पराजित गर्दै आर्मीले दोस्रो पटक उपाधि हात पारेको हो।
उपाधिसँगै साबिक बिजेता आर्मीले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने, उपविजेता बनेको घरेलु टोली विजय युथले १० लाख रुपैयाँमा चित्त बुझायो । यस अघि भएको तेस्रो संस्करणमा पनि आर्मीले उपाधि चुम्दा घरेलु टोली उपविजेता बनेको थियो । आर्मीको जितमा कप्तान भरत खवास र कमल बहादुर थापाले एक÷एक गोल गरेका थिए । भने, घरेलु टोली विजय युथका तर्फबाट डोना थापाले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएका थिए ।
खेलको १५औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले टेक बहादुर बुढाथोकीको पासमालाई सुन्दर फिनिसको नमुना पेश गरे । त्यसको १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा बिमल रानालाई फउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी प्रदान गर्दा डोना थापाले गोल गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै घरेलु टोली विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइक पाएका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए । उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् । मकवानपुरका १० वटै स्थानीय तहको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan