हेटौंडा– हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीले माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी शुक्रबार एकदिने अभिमुखीकरण कार्यक्रम गरेका छन् । हेटौंडा– ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ जना विद्याथीलाई माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ बनाउने विषयमा तालिम प्रदान गरिएको होे ।
नवोदय विद्यालयका विद्यार्थीले उक्त कार्यक्रममा सहजीकरण गरेका थिए । ‘माइक्रोस्कोप कसरी चलाउने र कोषलाई कसरी हेर्ने भन्ने विषयमा सिक्ने अवसर पाएको भन्दै लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा सबिना लामा नवोदय परिवारलाई धन्यवाद दिइन् । कार्यक्रममा सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई प्रयोगात्मक तवबरले जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
विज्ञान विषयको प्रयोगात्मक सीप आफूले मात्र नभई सामूदायिक विद्यालयका विद्यार्थीले पनि केही कुरा सिकून् र आफूले पनि नयाँ कुरा सिक्ने, नयाँ साथी बनाउने अवसर हुने भएकाले गर्दा कार्यक्रम आयोजना गरिएको नवोदय विद्यालयका सहजकर्ता अर्नभ तिवारीले बताए । आउँदो आइतबार पनि श्रमिक माविका कक्षा ७ मा अध्ययन गर्ने बालबालिकालाई उक्त अभिमुखीकरण तालिम दिने तथा आगामी दिनमा पनि विभिन्न सामूदायिक विद्यालयहरुसँग सहकार्य गरी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने विद्यालयका विज्ञान विषयका सुपरिवेक्षक अरुण दाहालले बताए ।

