हेटौंडा–मकवानपुरको कैलाश गाउँपालिका ९ नम्बर वडाध्यक्षमाथि यौन दूव्र्यवहारको आरोप लगाएर फसाउन खोजेको दावी गरिएको छ । नेपाली कांग्रेस कैलाश गाउँ समितिले हेटौंडामा पत्रकार सम्मेलन गरी चुनाव हारेको झोकमा केही व्यक्तिहरुले नियोजित रुपमा फसाउने योजना बनाएर यौन दूव्र्यवहारको प्रपञ्च रचेको बताएको छ ।
राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेल्न आएका एक विद्यार्थीलाई कैलाशका एक वडा अध्यक्षले यौन दुव्र्यवहार गरेको भन्दै समाचार बाहिरिएपछि कांग्रेसले यस्तो बताएको हो । नेपाली कांग्रेस कैलाश गाउँपालिका कार्यसमितिले यौन दुर्व्यवहारको बिषयमा सत्यतथ्य छानबीन गर्न माग समेत गरेको छ ।
‘अध्यक्षमाथि लागेको आरोपको बिषयमा गम्भीर ध्यानाकर्षण भएको छ, जननिर्वाचित वडा अध्यक्षलाई अनाहकमा यौन दुर्व्यवहार जस्तो घृणित आरोप लगाउने राजनीतिक दलप्रति घोर भत्सर्ना गर्दछौं ।’ कांग्रेस गाउँपालिका सभापति राजेन्द्र घिसिङले् भने । घटनाको सत्यतथ्य नबुझी एकलौटी भनाइलाई आधार मान्दै कुनै राजनीतिक दलबाट प्रेरित भएर घटनालाई अघि बढाइएको भन्दै उनले आपत्ति जनाएका छन् । १८ गते साँझ विद्यालयका शिक्षकहरुको अनुरोधमा वडा अध्यक्ष हेटौंडा–१० स्थित असन गेष्ट हाउसमा पुगेको र राती साढे ९ बजेको समयमा खेलाडी विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि हल्ला नगर्न अनुरोध गरेर साथीसंग कोठामा सुतेका वडा अध्यक्षलाई आरोप लगाइएको कांग्रेसले दावी गरेको छ ।
आरोप प्रमाणित नभएको अवस्थामा सञ्चार माध्यममा वडा अध्यक्षले यौन दुर्व्यवहार गरेको समाचार आउँदा अचम्ममा परेको पनि सभापति घिसिङले बताए । उनले प्रहरी प्रशासनलाई घटनाको बिषयमा सत्यतथ्य छानविनका लागि आग्रह गर्दै वडा अध्यक्षले गलत गरेको प्रमाणित भएमा कारबाही हुनुपर्ने समेत बताएका छन् । पत्रकार सम्मेलनमा उपस्थिति भएका घटना भएको भनिएको दिन वडा अध्यक्षसँगै एउटै कोठामा सुतेको दावी गरेका कैलाशका नवराज रुम्बाले अनाहकमा वडा अध्यक्षलाई फसाउन खोजिएको बताएका छन् । ‘मेरो छोरा पनि राष्ट्रपति रनिङशिल्ड खेल्न आएकोले वडा अध्यक्षसंगै म पनि उक्त होटलमा पुगेको थिएँ । सुत्ने तर्खर गर्दैगर्दा विद्यार्थीहरुले हल्लाखल्ला गरेपछि हामीले रातको समयमा नसुतेर किन हल्लाखल्ला गरेको भनेर सम्झाउँदै सुत्न गएका हौं’, रुम्बाले भने, ‘म राति करिब १ बजेसम्म मोबाइल चलाएर बसेको थिएँ, वडा अध्यक्ष निदाइसक्नुभएको थियो । तर यहाँ राति साढे ९ बजेको समयमा यौन दुर्व्यवहार गरेको भन्ने आरोप लगाएको सुन्दा अचम्म लागेको छ ।’
चुनाव हारेको चोटमा केही नेताले योजनाबद्ध रुपमा फसाउन खोजेको उनले आरोप समेत लगाए । बालिकामाथि यौन दुर्व्यवहारको घटना भएको पुष्टि भए कारबाही हुनुपर्ने माग गर्दै रुम्बाले अनाहकमा कसैलाई फसाउन नमिल्ने बताए ।

