हेटौंडा–लामो समयदेखि मकवानपुरका सिमान्तकृत जनजाति चेपाङ र वनकरिया जातिको उत्थानको लागि कलम चलाएका पत्रकार प्रताप विष्टले आफ्नो पुस्तक ‘छेलिएका अनुहार’ सार्वजनिक गरेका छन् । सांग्रिला प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तकको शनिबार हेटौंडामा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले विमोचन गरेका हुन् ।
छेलिएका अनुहार अल्पसंख्यक चेपाङ, वनकरिया समुदाय र राणाकालमा गाडी बोक्नेहरुको विषयमा तयार पारिएको कृति हो । पुस्तकमा विष्टले २०४९ सालयता विभिन्न समयमा चेपाङ, वनकरिया र गाडी बोक्नेहरुकोबारेमा लेखेका समाचारलाई समेटेका छन् । पुस्तक विमोचनपछि बोल्दै राज्यमन्त्री चेपाङले चेपाङ र वनकरिया समुदायको बारेमा एउटा ऐतिहासिक किताब प्रकाशित भएको भन्दै भावी पुस्तालाई र सरकारलाई पनि एउटा महत्वपूर्ण दस्तावेज प्राप्त भएको बताए । आगामी दिनमा सिमान्तकृत चेपाङ र बनकरिया समुदायको समग्र विकासका लागि दबाब सिर्जना गर्न पनि पुस्तकले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
बागमती प्रदेश सरकारमा आफू नियुक्त भएपछि आफूहरुको समुदायको पक्षमा महत्वपूर्ण काम भएको उनले सुनाए । प्रदेश सरकारले ल्याएको बजेटमा चेपाङ, वनकरिया, माझी, जिरेल समुदायको लागि एकीकृत बस्ती निर्माणको लागि बजेट छुट्याएको बताउँदै उनले संविधानले व्यवस्था गरेअनुसार धादिङ, मकवानपुर र चितवनका चेपाङ बाहुल्य क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिएको उनले सुनाए ।
चेपाङको भाषा, संस्कृति, र परम्परासँग जोडिएका कुराहरुलाई सरकारले विकाससँग जोड्नुपर्ने पनि उनले औंल्याए । चेपाङले खाने गिट्टा भ्याकुरको बहुउपयोगिता, चिउरीको उपयोगितालाई प्रयोग गरेर पनि समुदायको विकास गर्न सकिने उनको धारणा थियो ।
पुस्तक विमोचन कार्यक्रममा हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा, वनकरिया समुदायकी सन्तोषी वनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, वरिष्ठ साहित्यकार तुल्सी थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । पुस्तक माथी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठ, चितवनका साहित्यकार एंव प्राध्यापक भूपिन, मकवानपुरका साहित्यकार तुल्सी थापा, लेखक चन्द्रकिशोर झालगायतले चर्चा गरेका थिए ।
२०४९ साल फागुन १३ गतेदेखि कान्तिपुर दैनिकमा आवद्ध भएका विष्टले २०५० सालमा अल्पसंख्यक चेपाङ समुदायको विषयमा समाचार लेख्न सुरु गरेका थिए । यस्तै २०५२ सालमा वनमै रहेका वनकरिया समुदायको विषयमा समाचार लेखेका विष्टलाई चेपाङ र वनकरियाको पत्रकारको रुपमा उपमा समेत दिने गरेको छ ।
चेपाङ, वनकरिया र गाडी बोक्नेको विषयमा तीन खण्डमा पुस्तकलाई विभाजन गरिएको उल्लेख गर्दै विष्टले पुस्तक चेपाङ र बनकरिया समुदायको विषयमा सुरुवातदेखि नै लेखिएको समाचारहरुकै एकीकृत आकार भएको बताए । विमोचन कार्यक्रम सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको थियो ।

