Search
Close this search box.

नेशनल लाइफले हेटौंडामा अभिकर्ता मेला गर्दै

हेटौंडा–जीवन बिमाको महत्वबारे जानकारीका साथै व्यक्तित्व विकास तथा बोल्ने कलाको सीप सिकाउने उद्देश्यले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हेटौंडामा अभिकर्ता मेलाको आयोजना गर्ने भएको छ ।

भोलि भदौ ७ गतेदेखि एक हप्तासम्म अभिकर्ता मेलाको आयोजना गर्न लागिएको र यस मेलामा बिमाको बारेमा जान्न चाहने जोकोहीले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । हेटौंडाको पारिजातपथमा रहेको आफ्नै कार्यालयमा आयोजना गरिने अभिकर्ता मेलामा दैनिक ४० जनालाई सहभागी गराई ३ घण्टासम्म तोकिएको विषयमा ज्ञान प्रदान गर्ने नेशनल लाइफ इन्स्योरेन्स हेटौंडाकी शाखा प्रबन्धक शर्मिला बलामीले जानकारी दिइन् ।

सात दिनसम्म चल्ने मेलामा एक व्यक्ति एक दिन सहभागी हुन पाउनेछन् । मेलामा दैनिक ४० जनाका दरले दुइ सय ८० जनालाई सहभागी गराउने लक्ष्य रहेको शाखा प्रमुख बलामीले बताइन् ।

एसएलसीभन्दा माथिका शैक्षिक योग्यता भएका जोकोहीले मेलामा सहभागी भएर आवश्यक ज्ञान लिन सक्नेछन् । उनीहरुलाई प्रमाणपत्रका साथ खाजा खर्चको व्यवस्थासमेत कम्पनीले गरेको छ । मेलामा सहभागी भएपश्चात अभिकर्ता बन्न इच्छुकहरुलाई थप तालिमको व्यवस्था गर्ने पनि शाखा प्रबन्धक बलामीले बताइन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan