हेटौंडा–विप्लव नेतृत्वको नेकपासहितका ४ दलले विभिन्न माग राख्दै गरेको नेपाल बन्दको प्रभाव हेटौंडामा सामान्य परेको छ ।
बजार र शैक्षिक संस्था बन्द गरिएको छ । मोटरसाइकल, अटो तथा इरिक्सा निर्वाध चलिरहेका छन् भने साना र मझौला सवारीका साथै भाडाका लामा तथा छोटा दूरीका सवारी भने आंशिक रुपमा मात्रै सञ्चालन भइरहेका छन् । मुख्य बजार क्षेत्र बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । बन्दकर्ताहरु बजारमा देखिएका छैनन् ।
मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार मकवानपुर प्रहरीले बारा तथा चितवन प्रहरीको समन्वयमा केही सवारीलाई स्कटिङ्ग गरेर गन्तव्यतर्फ पठाउने काम गरिरहेको छ ।
सरकारसँग २०७७ सालको फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा ४ दलले बन्दको आह्वान गरेका हुन् ।
बन्दको समर्थन गर्नेहरुमा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टी रहेका छन् ।

