हेटौंडा–जीवन बिमाको महत्वबारे जानकारीका साथै व्यक्तित्व विकास तथा बोल्ने कलाको सीप सिकाउने उद्देश्यले हेटौंडामा अभिकर्ता मेला सुरु भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हेटौंडाको आयोजनामा मंगलबारबाट अभिकर्ता मेला सुरु भएको हो ।
एक हप्तासम्म चल्ने मेलाको पहिलो दिन २५ जनाले सहभागिता जनाएका थिए । मेलामा बिमाको बारेमा जान्न चाहने जोकोहीले सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । हेटौंडाको पारिजातपथमा रहेको आफ्नै कार्यालयमा आयोजना गरिने अभिकर्ता मेलामा दैनिक ४० जनालाई सहभागी गराउने लक्ष्य रहेता पनि मंगलबार नेपाल बन्दको प्रभावका कारण संख्या केही कम हुन गएको नेशनल लाइफ इन्स्योरेन्स हेटौंडाकी शाखा प्रबन्धक शर्मिला बलामीले जानकारी दिइन् । मेलामा एक व्यक्ति एक दिन सहभागी हुन पाउनेछन् । उनीहरुलाई ३ घण्टा तोकिएको विषयमा जानकारी गराइन्छ । मेलामा दैनिक ४० जनाका दरले दुइ सय ८० जनालाई सहभागी गराउने लक्ष्य कम्पनीले लिएको छ ।

मंगलबार कवि, लेखक तथा पत्रकार छवि अनित्यले बोल्ने कलाका साथै व्यत्तिःत्व विकासबारे प्रशिक्षण दिएका थिए । साथै कम्पनीकी शाखा प्रबन्धक बलामीले बिमाको महत्व र नेशनल लाइफ इन्स्योरेन्सका अभिकर्ता बन्दा हुने फाइदाबारे जानकारी गराएकी थिइन् । एसएलसीभन्दा माथि शैक्षिक योग्यता भएका जोकोहीले मेलामा सहभागी भएर आवश्यक ज्ञान लिन सक्नेछन् । उनीहरुलाई प्रमाणपत्रका साथ खाजा खर्चको व्यवस्थासमेत कम्पनीले गरेको छ । मेलामा मंगलबार सहभागी २५ जनाले नै कम्पनीको अभिकर्ता बन्न इच्छा देखाएको र उनीहरुलाई आवश्यक तालिमको व्यवस्था गरिने शाखा प्रबन्धक बलामीले बताइन् ।

