Search
Close this search box.

योजना कार्यान्वयनमा ढिलाई नगर्न राज्यमन्त्री प्रजाको निर्देशन

हेटौंडा–बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले चालु आर्थिक वर्षमा छुट्याइएको योजना कार्यान्वयनमा ढिलाई नगर्न मातहतका कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्रदेशभित्रका पूर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरुबीच सोमबार मन्त्रालयमा भएको कार्यक्रम कार्यान्वयन बारेको छलफलमा राज्यमन्त्री प्रजाले डिपिआर गर्नुपर्ने योजनाहरुको डिपिआर सुरु गरी चाँडै ठेक्का लगाउन निर्देशन दिएका हुन् ।

‘योजना कार्यान्वयन गर्न कुनै कानुनी वा नीतिगत समस्या छ भने पहिचान गरी चाँडै नै मन्त्रालयलाई जानकारी गराउनूस्, नभए अब चाँडै नै योजना कार्यान्वयन गर्नतिर लाग्नुपर्ने हुन्छ ।’ राज्यमन्त्री प्रजाले भने । बहुवर्षीय ठेक्का लागेर काम भइरहेका सडक, भवन तथा सडक पुलका योजनाहरु चाँडै सम्पन्न गर्न सम्बन्धित कार्यालयहरु दबाब दिनुपर्ने पनि उनले बताए । यसअघि डिपिआर भएर बसेका योजनाहरुमा आवश्यक बजेट विनियोजन गरिएको भन्दै राज्यमन्त्री प्रजाले कुनै योजनामा बजेट हाल्न छुटेको भए संशोधन गरी बजेट हालिने प्रतिवद्धता पनि जनाए ।

कार्यालयहरुमा कर्मचारीको अभाव भएको गुनासो आएको भन्दै उनले सबै कार्यालयहरुमा स्थायी कर्मचारी थप गर्ने प्रक्रिया अघि बढिसकेको पनि उनले बताए । विगतमा कार्यालयका कर्मचारीको मनमुटाव तथा सल्लाह र समन्वय नहुँदा पनि योजना कार्यान्वयनमा असर परेको स्मरण गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न राज्यमन्त्री प्रजाले सचेत गराए ।

छलफलमा मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले कार्यक्रमहरु कार्यान्वयनमा कुनै समस्या भए प्रष्ट रुपमा राख्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे । कानुन र नीति नियमको परिधिभित्र रहेर कार्य सम्पादन गर्नसमेत मातहतका कार्यालय प्रमुखहरुलाई उनले निर्देशन दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan