Search
Close this search box.

‘नवाेदय मोडल युनाइटेड नेशन’ हुँदै

हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा यही भदौ १९ गतेदेखि २१ गतेसम्म ‘नवोदय मोडल युनाइटेड नेशन’ कार्यक्रम हुने भएको छ ।
यसअघि २ पटक भर्चुअल रुपमा आयोजना भइसकेको नमूना संयुक्त राष्ट्र संघीय महासभा (मोडल युनाइटेड नेशन) बैठक यसपटक भौतिक उपस्थिति मै आयोजना गर्न लागिएको विहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्थाको अवधारणा बुझाउन अभ्यासमा आधारित भई कार्य गर्न खोजिएको विद्यालयले जनाएको छ ।
नमूना संयुक्त राष्ट्र संघीय महासभामा महासचिवको भूमिका निर्वाह गरिसकेकी छात्रा रेजा विष्टले नमूना संयुक्त राष्ट्र संघीय महासभाको तयारीका बारेमा जानकारी गराएकी थिइन् । विद्यार्थीको नेतृत्व विकास हुने, सामूहिक छलफलमा सहभागी हुनुका साथै आफ्नो विचार प्रस्तुत गर्ने क्षमताको विकास हुने अपेक्षा सहित नमूना महासभाको आयोजना गरिएको विष्टले बताइन् ।
नमूना महासभाको आयोजनाले विद्यार्थीमा अन्तर्राष्ट्रिय सम्बन्ध, नीति, योजनाका विषयमा पनि जानकारी हुने उनको विश्वास छ । संयुक्त राष्ट्र संघको वास्तविक संरचना र अभ्यासमा
आधारित भएर नमूना अभ्यास गर्न लागिएको हो । तीन दिनसम्म हुने कार्यक्रममा नमूना महासभामा पूर्वनिर्धारित मुद्दामा रहेर विद्यार्थीले छलफल गर्नेछन् । नमूना महासभामा विश्व स्वास्थ्य संगठनको तर्फबाट विश्वभर आनुवंशिक विकारलाई सम्बोधन गर्ने, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को तर्फबाट विश्वव्यापी सुरक्षाका लागि उपनिवेशको कमी, आर्थिक र वित्तीय मामिला
परिषद्ले बढ्दो मुद्रा स्फिति विश्वव्यापी मन्दी विरुद्धको लडाइँलाई प्रमुख मुद्दा बनाउँदा खाद्य तथा कृषि संगठनले राम्रो उपजका लागि भविष्यको कृषि प्रविधिको विकासलाई प्रमुख एजेण्डा बनाउनेछ ।
अन्तर्राष्ट्रिय श्रम संगठनको तर्फबाट कार्यरत कार्यबलको तीव्र आकारलाई प्रमुख एजेण्डा बनाउने जानकारी रहेको महासचिव विष्टले जानकारी दिइन् ।
यसैगरी संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमको तर्फबाट जलवायु परिवर्तन र भिन्नताहरु विरुद्ध लड्न हरित उर्जाको उचाईलाई प्रमुख एजेन्डा बनाउने छ । नमूना महासभामा सहभागी हुँदा विद्यार्थीले कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रसंघमा मुलुकको प्रतिनिधित्वका विषयमा बुझ्न पाउनेछन् । नमूना महासभा बैठकका साथै सामाजिक सन्ध्या तथा विविध
मनोरञ्जनात्मक क्रियाकलापको पनि आयोजना हुनेछ । नवोदयको आयोजनामा हुन लागेको नमूना महासभामा हेटौंडा एकेडेमी विद्यालय, तुलसी मेहर विद्यालय, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, मकवानपुर बाल विद्या सदन, ब्रहमदिक एकेडेमीका विद्यार्थीले पनि सहभागी जनाउने छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan