Search
Close this search box.

हेटौँडामा फल्स बटम बनाएर ल्याइएको चाँदीसहित चार भारतीय पक्राउ

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्टबाट भन्सार छली ल्याइएको १४ किलो १८० ग्राम चाँदी तथा चाँदीजस्तै देखिने धातुसहित चार भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय चालक रमेशकुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दादेवी सोनार, १८ वर्षीय छोरा अजित साह सोनार र करिब २० वर्षीया भान्जी नन्दनीकुमारी साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो रक्सोलबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ च ७०७९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त सामग्री फेला परेको हो। प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमान्डमा खटिएको टोलीले कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा विभिन्न प्रकारका चाँदीका गरगहना तथा सिक्का बरामद गरेको थियो।

प्रहरीका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य ४० लाख ९६ हजार ६६१ रुपैयाँ रहेको छ। प्रहरीले गरगहना तथा सिक्का, कार र पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि वीरगन्जस्थित भन्सार कार्यालय पठाएको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan