हेटौंडा–मकवानपुर जिल्लाबाट कक्षा १२ मा अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गर्ने उद्देश्यले नेपाली लेखक सङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गौतम र उनका मामा माधवप्रसाद पोखरेलले एक लाख ७६ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । नेपाली लेखक सङ्घ मकवानपुरबाट पुरस्कार वितरण हुने गरी गौतमले एक लाख २५ हजार र पोखरेलले ५१ हजार गरी संयुक्त रुपमा अक्षयकोष स्थापना गरेका हुन् ।
शुक्रबार नेपाली लेखक सङ्घको नियमित मासिक बैठकले गौतम र पोखरेलबाट प्राप्त अक्षयकोष रकम स्वीकार गर्ने निर्णय गरेको हो । गौतम र पोखरेलले आफ्ना माता पितासहित पूर्वजहरुको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको नाम दामोदर लोकप्रिया स्मृति पुरस्कार रहनेछ । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष मकवानपुर जिल्लाबाट कक्षा १२ को परीक्षामा अनिवार्य नेपालीमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई पुरस्कार प्रदान गरिने नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्यले जानकारी दिए ।
लेखक सङ्घको कार्यसमिति बैठकबाट कोषाध्यक्ष गंगा सापकोटाको राजीनामा स्वीकृति गर्दै कोषाध्यक्षको कार्य गर्नको लागि ज्योत्सना श्रेष्ठलाई मनोनयन गरिएको छ ।

