एउटा ऐतिहासिक गाउँ चित्लाङ । जून मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा पर्दछ । हरियाली प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै चित्लाङ पुग्दा होमस्टे र रिसोर्टमा गरिने न्यानो स्वागतले जोकोही पुलोकित हुन्छन् । पर्यटकीय हिसाबले पछिल्लो समयमा निकै चर्चामा रहेको चित्लाङको आफ्नै इतिहास र विशेषता छ ।
पहिले चित्लाङको नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले चैतलाङ भन्दै पछि चित्लाङको रुपमा चिनिन पुगेको इतिहासविद्हरुको भनाइ छ । चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत शृङ्खला छ । मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिका–१० मा रहेको चित्लाङ गाउँ लिच्छवीकालदेखिकै परिचित गाउँ मानिन्छ । काठमाडौंबाट तराई आउजाउ गर्नेहरु चन्द्रागिरी डाँडो पार गरी चित्लाङ हुँदै आउजाउ गर्थे । त्यसयताको मल्लकालीन राजा, राणाहरु पनि तराई आउजाउ गर्न चित्लाङकै बाटो प्रयोग गर्थे । आउजाउ गर्दा रात परेपछि उनीहरु चित्लाङमा नै रात बिताउथे ।
वि.सं ३ सय १६ मा सम्राट अशोकले बनाएको अशोक चैत्य चित्लाङमा पर्यटक लोभ्याउने एउटा सम्पदा हो । अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर र विभिन्न शिलालेखका कारण इतिहासका अध्ययनकर्ता पनि चित्लाङ पुग्ने गर्छन् ।
चित्लाङलाई महाकवि लक्ष्मीप्रसाद देवकोटासँग पनि जोडेर चिनिन्छ । ‘कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो’ बोलको गीत लक्ष्मीप्रसाद देवकोटाले १९९८ मा चित्लाङमै बसेर लेखेका थिए । मकवानपुर भ्रमणको क्रममा चित्लाङको गुर्जुधारामा बसी सुस्ताइरहेका देवकोटाले भारतबाट पशुपति दर्शनको लागि कयौं दिन लगाएर हिँड्दै आइरहेका तिर्थयात्रुलाई देखी सो गीत रचना गरेका थिए ।
देवकोटाले पानी पिएको ढुङ्गेधारा र बसेर कविता लेखेको भनिएको ढुङ्गा अहिले पनि देख्न सकिन्छ । चित्लाङ नजिकै मार्खुमा सरकारी स्तरबाट सञ्चालित बाख्रा फार्म छ । बाख्रा फार्मको अवलोकन गरी विभिन्न प्रजातीको बाख्राबारे जानकारी लिन सकिन्छ ।

किराँत राजाहरूले बनाएका नेपालको एक मात्र तीन गजुरको शिवालय ।






तस्बिरहरुः छवि अनित्य/ प्रदेश सञ्चार

